बागलुङ,
गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले एफएम रेडियोहरू दूर्गम क्षेत्रका नागरिकको आवाज र धड्कन भएको बताएकी छन् । उनले रेडियोले केवल सूचना मात्र प्रवाह नगरी जनताको जीवनलाई उज्यालो बनाउने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन ।
धौलागिरि एफएमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘रेडियोः विगत, वर्तमान र भविष्य’ विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै भण्डारीले प्रविधिको विकाससँगै रेडियोमा नयाँ चुनौतीहरू थपिए पनि ती चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्ने अवसर पनि रहेको बताइन ।
प्रेस रजिष्ट्रार भण्डारीले २०६१ सालमा राजनीतिक संकटबाट गुज्रिएका रेडियोहरू अहिले फेरि आर्थिक संकटमा परेको जनाउँदै यसबाट पार पाउन सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी जनतासम्म पुग्न आवश्यक रहेकोमा जोड दिइन । उनले भनिन, ‘अहिले रेडियो सुन्नेहरूको संख्या घटेको छ र विज्ञापनको बजार पनि खुम्चिएको छ । यस्तो बेलामा सरकारले न्यूनतम सहयोग गर्नुपर्छ र रेडियोहरू जनताको चाहनाअनुसार चल्नुपर्छ । ’ नयाँ पुस्तालाई रेडियोमा आकर्षित गर्नका लागि सामग्रीहरूलाई उनीहरूको रुचि र आवश्यकताअनुसार ढाल्नुपर्नेमा उनले जोड दिइन ।
गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालय स्थापना भएपछि प्रदेशभित्रका सञ्चारमाध्यम र पत्रकार महासंघका शाखाहरूको सशक्तिकरणमा सहयोग पुगेको पनि भण्डारीले जानकारी गराइन । यसले राजधानीसम्म धाउनुपर्ने बाध्यता हटाएर प्रदेशस्तरमै धेरै कामहरू सम्पन्न गर्न सहज भएको उनको भनाइ थियो।
कार्यक्रममा उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीष र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आफ्ना विचार राखेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमा रेडियोले नागरिकलाई सूचनामा पहुँच, सामुदायिक सशक्तिकरण, लोकतन्त्र र पारदर्शितामा टेवा पु¥याएको तथा विपद् र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको थियो । यद्यपि, जनशक्ति अभाव, विज्ञापन बजारको संकुचन, व्यवसायिकतामा कमी र सामग्रीमा नवीनताको अभावले रेडियोप्रतिको विश्वास घटेको उनको भनाइ थियो । यसका लागि प्रस्तुति शैलीमा परिवर्तन, सामाजिक भूमिकाको विस्तार, आर्थिक पक्षको सुदृढीकरण र श्रोता सहभागिता बढाउनुपर्नेमा श्रेष्ठले जोड दिए।
धौलागिरि एफएमको २१ औं वार्षिकोत्सवका अवसरमा आयोजित ’रेडियोः विगत, वर्तमान र भविष्य’ विषयक अन्तरसम्वाद कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व महासचिव गणेश पौडेलले एफएम रेडियोको महत्व र यसका चुनौतीबारे प्रकाश पारे । सोही अवसरमा लेखक यामबहादुर थापाले रेडियोको भविष्यका लागि आवश्यक सुझावहरू प्रस्तुत गरे ।
कार्यक्रम धौलागिरि एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सम्पादक ताराप्रसाद शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए । स्टेशन प्रमुख उमाकान्त शर्माले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।
२०६१ साल कात्तिक २७ गते धौलागिरि क्षेत्रमै पहिलो पटक धौलागिरि एफएमको स्थापना भएको थियो । यस एफएमको स्थापनाले यस क्षेत्रका ग्रामीण बासिन्दाहरूलाई सूचनाको पहुँच विस्तार गर्न ठूलो मद्दत पुगेको रेडियोका अध्यक्ष गौतमले बताए । उनका अनुसार, यस एफएमले सशस्त्र द्वन्द्वको चुनौतीपूर्ण समयमा समेत पत्रकारहरूले अनेकौं कठिनाइ र सास्ती भोगेर पनि सूचना प्रवाहको कार्यलाई निरन्तरता दिएको स्मरण गरे । विषम परिस्थितिमा पनि सूचनाको ज्योति फैलाउन सफल भएको धौलागिरि एफएमको यात्रा यस क्षेत्रका लागि गौरवपूर्ण रहेको उनको भनाइ थियो । यस कार्यक्रमले एफएम रेडियोहरूको विगतको योगदान, वर्तमानका चुनौती र भविष्यका सम्भावनाहरूबारे गहिरो छलफल गराएको छ ।