काठमाडौं :
म्याग्दीका विभिन्न स्थानमा ४० दिन लगाएर निर्माण गरिएको फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। दसैंअघि सुरु भएको छायांकन मंगलबार सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। छायांकन सकिँदै फिल्मका तीन नयाँ लुक्स र प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो। निर्माता सुशील पोखरेलका अनुसार फिल्म आगामी बैशाख ११ गते देशभर प्रदर्शनमा आउनेछ।
पोखरेलले अन्य फिल्मसँग भिडन्त नहोस् भन्ने उद्देश्यले साधारण मिति रोजेको बताउँदै, ‘‘अरूको फिल्म पनि चल्नुपर्छ भन्ने सोचले मेजर डेट छोडेर साधारण शुक्रवार बैशाख ११ लाई फिक्स गरेका हौं,’’ भने। उनले साथी–भाइका फिल्मलाई सम्मान गर्दै आफ्नो रिलिज मितिमा अन्य निर्मातालाई फिल्म नजुधाउन आग्रह पनि गरे।
उनका अनुसार जेनजी आन्दोलन, वर्षा र पहिरोले अवरोध पुर्याए पनि कलाकार र टेक्निसियनको अहोरात्र मेहनतले छायांकन पूरा भएको हो। ३० दिनको सेड्युल बनाइएको फिल्म ४० दिनमा सकिएको पोखरेलले जानकारी दिए। ‘‘कठिन अवस्थामासमेत हिमाली नयनाभिराम लोकेसनमा नेपाली माटोको सुगन्ध आउनेगरी ठुलो क्यानभासमा छायांकन गरेका छौँ,’’ उनले भने।
फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार एन्जिला बानियाँ मुख्य भूमिकामा छन्। कलाकारहरूले भूमिकामा दख्खल बढाउन काठमाडौंमा वर्कसपसमेत गरेका थिए, जसले पनि चलचित्रको गुणस्तरमा योगदान पुगेको निर्माता पोखरेलको दाबी छ।
गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित फिल्मको लेखन सुशील देवकोटाले र निर्देशन लक्ष्मण सुनारले गरेका छन्। सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतका गीत तथा शान्ति ठटाल, सत्य स्वरूप र सपुतकै संगीत रहेको फिल्मलाई संकल्प भुजेलले खिचेका हुन्। कोरियोग्राफी रामजी लामिछाने र प्रोडक्सन म्यानेजमेन्ट नगेन्द्र घिमिरेले सम्हालेका छन्।
आर.आर फिल्मसले वितरण र ओटीटी राइट ओएसआरले रिलिजपूर्वमै महँगो दरमा खरीदेपछि ‘परालको आगो’ उद्योगको अपेक्षाकृत ठूलो परियोजनाका रूपमा हेरिएको छ। यसअघि यही कथामा प्रताप सुब्बाले निर्देशन गरेको फिल्म ४५ वर्षअघि प्रदर्शनमा आएर अत्यधिक सफल भएको थियो।