काठमाडौं :
‘केह दो’, ‘होना था जो’ लगायत करिब आधा दर्जन बलिउड गीतका गायक उज्वल बाबुको नेपाली गीत ‘फ्यान चल्यो घामको धुपैमा’ सार्वजनिक भएको छ । गीत गायनमा उज्वललाई ‘मेरो भ्वाइस युनिभर्स सिजन २’की प्रतियोगी गायिका जुनु प्रसाईले साथ दिएकी छन्।
रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीले प्रेमीलाई अहिले माया देखाएरपछि ल्याङल्याङ गर्दै धोक दिन नमिल्ने र जीवनभर साथ दिनुपर्ने आशय राखेका छन् । गीतमा शब्द, संगीत र एरेन्ज बाबुल गिरीको छ। गीतको आकर्षक भिडियो पनि बनेको छ।
जसमा उदयराज गिरी र बिना राउतको अभिनयमा छ। गीतमा दुबैलाई रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ । मोडल गिरी एनआरएन पोल्याडका २०२५ देखि २०२७ सम्मका लागि महासचिव हुन्।सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र राकेश दाहालको सम्पादन छ । भिडियोलाई अनुराधा गिरी र मदन प्रसाईले निर्माण गरेका हुन्।
गायक उज्वल नेपाली हुन्। बिगत ७ बर्षदेखि भारतमा रहेर निरन्तर संगीतमा क्रियासिल उनले थुप्रै हिन्दी गीतमा स्वर दिएका छन्। भारतमै २ बर्ष क्लासिकल र प्लेब्याक गायक कोर्ष गरेका उज्वलले म्युजिक उत्पादन तथा साउन्ड इन्जिनियरिङमा डिप्लोमा पनि गरेका छन्। भारतमै नेपाली डबिङ पनि गर्दै आएका उनी बलिउडका बिभिन्न शोसँग आवद्ध पनि छन्।