काठमाडौं :
पुस १० गते रिलिज हुने फिल्म ‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यो साइकोलोजिकल थ्रिलरमा अभिनेत्री बेनिशा हमाललाई पोस्टरको केन्द्रमा राख्दै तीन भिन्न रूपमा देखाइएको छ।
सार्वजनिक पोस्टरमा बेनिशालाई कहिल्यै आशावादी मुद्रामा, कहिल्यै तनावग्रस्त पात्रका रूपमा र तेस्रो मोडेलमा अभिनेता महेश त्रिपाठीसँग आमनेसामने संवादरत देखाइएको छ। पोस्टरमा प्रयोग गरिएको निलो रंगले फिल्मको शीर्षक र कथावस्तुको मनोवैज्ञानिक टोन संकेत गर्छ।
फिल्ममा अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी प्रमुख भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।
बलिराम चौहानको निर्देशनमा तयार भएको यो उनको डेब्यु फिल्म हो। छायांकन नरेन्द्र मैनाली, प्रोडक्सन डिजाइन रेलिजा श्रेष्ठ, निर्माण नियन्त्रक दिलीप पन्त र मुख्य सहायक निर्देशक आकाश उखेडा छन्। ‘द ब्ल्यू लाइट’ आगामी पुस १० गतेबाट देशभर प्रदर्शनमा आउनेछ।