काठमाडौं :
माघ २३ गते रिलिज हुने तयारीमा रहेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्।
पोस्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुड प्रस्तुत गरेको छ । सौम्य र क्लासिक लुकमा तयार गरिएको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतका रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ। पृष्ठभूमिमा प्रयोग गरिएका ‘वेभ’ डिजाइनले प्रेमको तरङ्गलाई संकेत गर्छ । अभिषेक र आकृतिको हाँसो र आपसी आत्मीयताले चलचित्र शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ। पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।
पोस्टर सार्वजनिकसँगै चलचित्रको नयाँ गीत ‘तिमी बिना …’ को रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ। यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल …’ ले राम्रो प्रतिक्रिया पाएको थियो । गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को स्वरमा रहेको गीत युट्युब र टिकटकमा विशेषगरी जेन–जी पुस्तामाझ लोकप्रिय बन्दै गएको निर्माण पक्षको दाबी छ।
दिनेश राउतको निर्देशनमा बनेको चलचित्र भ्यालेन्टाइन डेको आसपास प्रदर्शनमा आउने भएकाले यसले युवा दर्शकलाई लक्षित गरेको देखिन्छ । चलचित्रमा नयाँ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक चलचित्र निर्देशन गरेका राउत पछिल्ला वर्षहरूमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन्। सुसन प्रजापतिले छायाङ्कन निर्देशन गरेका छन् । चलचित्रको सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका हुन् भने साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ।
चलचित्रको डिजिटल वितरण मोशन पिक्चर्सले गरेको छ। काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले चलचित्रको थिएटर वितरण गर्नेछन्।