काठमाडौं :
अर्जुन घिमिरे (पाँडे) निर्देशित चलचित्र ‘झरिपछिको इन्द्रेणी’ नयाँ, पुराना र डेब्यु कलाकारको सहकार्यमा बनेको चलचित्र हो। अघिल्लो पुस्ताका अनुभवी कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्मको सहभागिताका कारण यस चलचित्रलाई कमप्याक्ट टिमको सिनेमा मानिएको छ।
चलचित्रमा गणेश उप्रेती र रमेश उप्रेतीजस्ता अनुभवी कलाकारको अभिनय रहेको छ। गणेश उप्रेती दुई दशकअघि सानो पर्दामा लोकप्रिय कलाकारका रूपमा चिनिएका थिए भने ठूलो पर्दामा पनि उनी उत्तिकै सफल थिए । त्यस्तै रमेश उप्रेती आफ्नो समयका चर्चित अभिनेता हुन्।
‘झरिपछिको इन्द्रेणी’ अर्जुन घिमिरेको पहिलो फिचर चलचित्र निर्देशन हो। टेलिभिजन सिरियल ‘सक्किगोनी’मार्फत कमेडी क्षेत्रमा स्थापित घिमिरेले यस चलचित्रमार्फत आफ्नो निर्देशन क्षमता ठूलो पर्दामा प्रस्तुत गरेका छन्। कमेडी अनुभवका कारण चलचित्र हेर्नलायक हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
चलचित्रमा निर्देशक तथा कलाकार दीपाश्री निरौलाको पनि अभिनय रहेको छ। यसै चलचित्रबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन् । नयाँ अनुहारका रूपमा उनीहरूको प्रवेशले दर्शकले फरक स्वाद पाउने अपेक्षा गरिएको छ। यसअघि केही चलचित्रमा विशेष भूमिकामा देखिएकी प्रियना आचार्य (मुन्नी)को पनि चलचित्रमा अभिनय छ।
चलचित्रले वर्तमान राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र जेन–जी युवापुस्ताको असन्तोष तथा आन्दोलनलाई कथावस्तुका रूपमा उठाएको छ। अभिनेत्री प्रियना आचार्यका अनुसार चलचित्रले सिस्टमको अभावले देश र युवामा पारेको असर तथा भविष्यप्रतिको चिन्ताले विदेशिएका नेपालीको भावनालाई समेटेको छ।
डेब्यु अभिनेता विमोचन दवाडीले चलचित्रमा आफूले गरेको मेहनत पर्दामा देखिने विश्वास व्यक्त गरेका छन्। अभिनेत्री जेसिका पोखरेलले पनि ‘झरिपछिको इन्द्रेणी’ आफ्नो करियरका लागि महत्वपूर्ण हुने बताएकी छन्।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि नेपाली रजतपटमा कमब्याक गर्दैछन्। चलचित्रको छायांकनका लागि उनी अमेरिका बाट नेपाल फर्किएका थिए।
चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला,सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी),अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईलगायतको अभिनय रहेको छ। बाल कलाकारका रूपमा दिप्सन चिलवाल पनि देखिनेछन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष उपस्थिति रहने निर्माण पक्षले जनाएको छ।
निर्देशक अर्जुन घिमिरेकै कथामा बनेको चलचित्रको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । बुद्ध थापाको छायांकन रहेको चलचित्रकी निर्मात्री अनिशा सेन्दाङ लिम्बु हुन्। सह–निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन्। लाइन प्रोड्युसर योगेश खतिवडा र विनोद कँडेल हुन्। आगामी पौष ४ गते ‘झरिपछिको इन्द्रेणी’ देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।