सुचना, समाचार र मनोरन्जन

‘बिगुल’को टिजर सार्वजनिक, राजनीति र जेन्जी आन्दोलनको कथा

काठमाडौं ।
फिल्म ‘बिगुल’को टिजर आइतबार सार्वजनिक गरिएको छ । माघ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सवा एक मिनेट लामो टिजरले समसामयिक राजनीति, देशप्रेम, सामाजिक जिम्मेवारी र जेन्जी आन्दोलनको सन्दर्भ उठाएको छ।

फस्र्टलुक पोस्टरमार्फत चर्चा बटुलिसकेको ‘बिगुल’को टिजरमा देशको वर्तमान राजनीतिक अवस्था, पारिवारिक सम्बन्ध र परिवर्तनप्रतिको युवा चाहनालाई समेटिएको देखिन्छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म ‘बिगुल’को कथा तथा निर्माण दिनेश कोइरालाले गरेका हुन्। पछिल्लो समय बजारमा एकै प्रकृतिका विषयवस्तुमा आधारित फिल्महरू बढिरहेका बेला ‘बिगुल’ले राजनीति, समाज, परिवार र मनोरञ्जनलाई समिश्रण गरी कथा प्रस्तुत गरेको निर्देशक कोइरालाले बताएका छन् ।

फिल्मले मनोरञ्जनसँगै समाज र देशमा भइरहेको राजनीतिक तथा सामाजिक घटनाबारे दर्शकलाई सोच्न बाध्य बनाउने विश्वास निर्देशकको छ । निर्देशक कोइरालाले भने,“मनोरञ्जनका साथ फिल्मलाई विचारका रूपमा पनि हेर्नुपर्छ भन्ने सोचका साथ ‘बिगुल’ निर्माण गरेका हौं। हरेक नागरिकलाई आफ्नो समाज र देशप्रति जिम्मेवार बनाउन फिल्मले भूमिका खेल्न सक्छ ।”

कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार फिल्ममा उठाइएको मुख्य विषय र अहिलेको जेन्जी पुस्ताले उठाउँदै आएको माग, देश विकास र परिवर्तनप्रतिको चाहना एकआपसमा मेल खान्छ। जेन्जी आन्दोलनप्रति समर्पित गरिएको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मालगायतको अभिनय रहेको छ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्म कल्पना पौडेलको प्रस्तुति हो । फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायांकन रहेको फिल्ममा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ । फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन्। सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन्।

Leave A Reply

Your email address will not be published.