सुचना, समाचार र मनोरन्जन

तेरिया–पुष्करसहित ‘मितज्यू’ टिम वर्कसपमा, जेठ १५ मा रिलिज

काठमाडौं ।
फिल्म घरज्वाइँ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक अनिल बुढा मगरले आफ्नो दोस्रो निर्देशकीय फिल्म मितज्यू को वर्कसप सुरु गरेका छन्। शनिबारदेखि सुरु भएको वर्कसप केही दिनसम्म सञ्चालन हुने निर्माण पक्षले जनाएको छ।

वर्कसपमा तेरिया फौजा मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकार सहभागी छन्। निर्देशक मगरका अनुसार कलाकारहरूले गर्ने भूमिकालाई सहज र प्रभावकारी बनाउन वर्कसप सञ्चालन गरिएको हो।

फिल्मका निर्माता जनक घर्ती मगरले पनि वर्कसपमार्फत कलाकारहरूलाई कथा र आफ्नो क्यारेक्टरबारे गहिरो बुझाइ दिन खोजिएको बताए। उनका अनुसार फिल्म आगामी माघ महिनाको पहिलो साताबाट छायांकनमा जाने तयारीमा छ।

उनले भने, “सुटिङअघि कलाकारले आफ्नो भूमिका राम्ररी बुझेपछि अभिनय सहज हुन्छ। यसले छायांकन समय र खर्च दुवै घटाउँछ। स्पटमै एक्सन–कट गर्दा अपेक्षित नतिजा नआउन सक्ने भएकाले वर्कसपलाई प्राथमिकता दिएका हौं।”

जिएम मुभिजको कार्यालयमा वर्कसप सञ्चालन भइरहेको निर्माण टिमले जानकारी दिएको छ।

फिल्म मितज्यू मा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सबिन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ।

फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र सम्पादक लोकश बज्राचार्य रहेका छन्।

फिल्मको गीतमा श्रीकृष्ण बम मल्ल र प्रकाश सपुतको संगीत रहनेछ। छायांकन शिशिर शिशङ्खेले, द्वन्द्व निर्देशन प्रभात बिष्टले तथा साउन्ड डिजाइन नविन श्रेष्ठले सम्हाल्ने छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ। रोल्पाका विभिन्न स्थानमा छायांकन हुने मितज्यू आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.