सुचना, समाचार र मनोरन्जन

रेखा थापा र विराज भट्ट एक दशकपछि बक्सअफिसमा आमनेसामने, नयाँ वर्ष २०८३ मा ठूला स्टारको भिडन्त

काठमाडौँ :

नेपाली फिल्म उद्योगका दुई चर्चित स्टार रेखा थापा र विराज भट्ट करिब एक दशकपछि बक्सअफिसमा प्रत्यक्ष भिडन्त हुने भएका छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर दुवै कलाकारका फिल्महरू एउटै मितिमा प्रदर्शनमा आउने भएपछि नेपाली सिने बजारमा ठूलो चासो पैदा भएको छ।

विराज भट्टको मुख्य भूमिका रहेको फिल्म ‘राम नाम सत्य’ ले यसअघि नै चैत २७ गते लाई प्रदर्शन मिति तय गरिसकेको छ। सोही मितिमा अब रेखा थापा स्टारर फिल्म ‘छत्तिसको आँकडा’ पनि रिलिज हुने भएको छ। मंगलबार फिल्मका वितरक रोहित कट्टेल ले सामाजिक सञ्जालमार्फत ‘छत्तिसको आँकडा’ को प्रदर्शन मिति चैत २७ घोषणा गरेका हुन्।

रेखा र विराज नेपाली सिनेमा क्षेत्रमा लामो समयसम्म सफल जोडीका रूपमा चिनिन्थे। डेढ दशकअघि ‘किस्मत’, ‘देवर बाबु’, ‘शिलशिला’, ‘हिम्मत’, ‘रक्षक’, ‘दुर्गा’ लगायतका चर्चित फिल्ममा सहकार्य गरेका उनीहरू पछिल्लो समय भने सार्वजनिक रूपमा एकसाथ देखिएका छैनन्। उद्योगभित्र दुवैबीच सम्बन्ध तिक्त बनेको चर्चा रहँदै आएको छ। यही पृष्ठभूमिमा उनीहरूको बक्सअफिस आमनेसामने भिडन्तलाई दर्शकले विशेष चासोका साथ हेरिरहेका छन्।

रेखा थापाको ‘छत्तिसको आँकडा’ सविर श्रेष्ठ को निर्देशनमा बनेको हो। फिल्ममा रेखासँगै निरुता सिंह, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायत कलाकारको अभिनय रहेको छ। अभिनेत्री निरुता सिंहले यही फिल्ममार्फत ६ वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन्। दिदी–बहिनीबीचको शत्रुतापूर्ण सम्बन्धको कथामा आधारित फिल्मको लेखन बाबुराम निरौला र शिवम् अधिकारी ले गरेका छन्।

उता, विराज भट्ट अभिनीत ‘राम नाम सत्य’ ले पनि नयाँ वर्षको बक्सअफिस दौडमा आफूलाई बलियो दावेदारका रूपमा प्रस्तुत गरेको छ। दुवै स्टारका फिल्म एउटै मितिमा प्रदर्शनमा आउँदा नयाँ वर्ष २०८३ को बक्सअफिस भिडन्तलाई वर्षकै सबैभन्दा चासोको प्रतिस्पर्धा का रूपमा हेरिएको छ। रेखा र विराजको यो आमनेसामने भिडन्तले नेपाली फिल्म उद्योगमा स्टार पावर अझै कत्तिको प्रभावशाली छ भन्ने प्रश्नको उत्तर बक्सअफिस नतिजाले दिनेछ।

Leave A Reply

Your email address will not be published.