काठमाडौं :
अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ। माघे सङ्क्रान्तिको अवसर पारेर आजदेखि फिल्म देशभर प्रदर्शनमा आएको हो।
बुवा र छोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा फिल्मको मुख्य विषयवस्तु रहेको छ। नेपाली कलाकारमा प्यासन छैन भन्नेहरूका लागि ‘मिरमिरे’ जवाफ भएको र यही कारण आफूले यो फिल्ममा अभिनय गरेको अभिनेता दयाहाङ राईले बताएका छन्।
‘मिरमिरे’को लेखन तथा निर्देशन यम शेर्पाले गरेका हुन् । यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। फिल्मका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालकसमेत रहेका वितरक रोहित कट्टेल रहेका छन्। वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक,सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
फिल्म ‘मिरमिरे’को वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गरेको हो। १०५ मिनेट रनटाइमको यो फिल्मले देशव्यापी रूपमा करिब १ सय ५० शोभन्दा बढी शो पाएको वितरण कम्पनी आरआर फिल्म्सले जनाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकाभित्र १६ शो दिएको छ भने मोफसलमा २३ शो पाएको छ। यसैगरी, देशको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका ६ वटा आउटलेटमा ११ शो, बिग मुभिजमा ३ शो, एफक्युब सिनेमामा ५ शो र वान सिनेमाज्का २ वटा आउटलेटमा ९ शो प्राप्त भएको छ।