सुचना, समाचार र मनोरन्जन

अनुभवी कलाकारसहितको ‘द ब्ल्यू लाइट’ माघ १६ गते रिलिज हुँदै

काठमाडौं :

आगामी माघ १६ गते मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ प्रदर्शनमा आउने भएको छ। अनुभवी र स्थापित कलाकारहरूको अभिनय रहेको यो फिल्मले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।

फिल्ममा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा देखिएकी छन्। ‘ब्लाइन्ड रक्स’मार्फत अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी बेनिशा यस फिल्ममा ‘माया’ नामक युवतीको भूमिकामा प्रस्तुत भएकी छन्। ट्रेलरअनुसार उनी एक्लोपन, कुलत र रहस्यमयी घटनामा फसेकी पात्रका रूपमा देखिन्छिन्।

अर्का मुख्य कलाकार महेश त्रिपाठी हुन्। ‘हल्कारा’बाट सशक्त अभिनयको पहिचान बनाएका उनी हाल प्रदर्शनरत फिल्म ‘परान’मा पनि देखिइरहेका छन्। फिल्ममा अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माको समेत अभिनय रहेको छ।

फिल्मको निर्देशन बलिराम चौहानले गरेका छन्। यो उनको डेब्यु निर्देशन हो । यसअघि उनी थुप्रै फिल्ममा चिफ एडीका रूपमा काम गरिसकेका छन् । गत दसैंमा रिलिज भएको फिल्म ‘बलिदान’को निर्देशकीय टिममा पनि उनी आबद्ध थिए।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको ‘द ब्ल्यू लाइट’ साइकोलोजिकल थ्रिलर जनरामा निर्माण गरिएको फिल्म हो। हालै सार्वजनिक गरिएको ट्रेलरले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ । धेरै दर्शकले नेपाली फिल्ममा नयाँ शैली र फरक विधाको आगमन भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।

गत शुक्रबार रिलिज गरिएको ट्रेलरले रहस्यमयी र अँध्यारो परिवेशमार्फत दर्शकको ध्यान खिचेको छ। ट्रेलरमा प्रेम, धोका, बदलो र रहस्यको कथालाई संकेत गरिएको छ। विशेष गरी अर्पण थापाको रहस्यमयी भूमिका, प्रहरी सोधपुछका दृश्य र ‘विक्रम’ पात्रसँग जोडिएको रहस्यले फिल्मप्रतिको कौतुहलता बढाएको छ। ‘द ब्ल्यू लाइट’ शीर्षकको अर्थ के हो भन्ने जिज्ञासा पनि ट्रेलरले उब्जाएको छ।

निर्देशक चौहानका अनुसार फिल्मको विषयवस्तु नयाँ नभए पनि प्रस्तुतिकरण फरक छ। उनले भने, “हामीले देखाउन खोजेको विषय नयाँ नभए पनि शैली फरक छ। पात्रका संवेग र भावनाहरू अत्यन्त संवेदनशील छन्, जसले दर्शकलाई फरक अनुभूति दिनेछ भन्ने विश्वास छ।”

फिल्मका को–प्रोड्युसर भोलानाथ कटुवाल र रमन ग्रे हुन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन्।

Leave A Reply

Your email address will not be published.