काठमाडौं :
यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ट्रेलरमा नेपालको पछिल्लो समसामयिक यथार्थलाई चित्रण गरिएको छ। देशमै अवसर नपाएपछि भविष्य खोज्दै परदेशिन बाध्य हुने युवापुस्ताको कथा र अभिभावकले सन्तानप्रति गर्ने निस्वार्थ मायालाई ट्रेलरमार्फत प्रस्तुत गरिएको छ। ट्रेलरमा आमा बनेकी विपना थापा, बुबाको भूमिकामा भारतीय वरिष्ठ कलाकार प्रदीप रावत र छोराको भूमिकामा अभिनेता पल शाह देखिएका छन्। उनीहरूबीचको गहिरो भावनात्मक सम्बन्ध ट्रेलरमै स्पष्ट अनुभूत गर्न सकिन्छ।
ग्रामीण परिवेशका आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्देशक चन्द्र पन्तले कथा बुनेका छन्। फिल्मको स्लोगन ‘बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं’ले बाध्यताले विदेशिनुपर्ने नेपाली युवाको पीडालाई प्रतिनिधित्व गर्छ। ट्रेलरमा साथीभाइको उक्साहटमा पढाइसँगै अस्ट्रेलिया जाने निर्णय लिने युवकको कथा वरिपरि घटनाक्रम घुमेको देखिन्छ। यसले वैदेशिक रोजगारी र अध्ययनका नाममा भइरहेको युवापलायनको यथार्थ उजागर गरेको छ।
निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती, दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ।
ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन निर्देशक नवराज उप्रेतीले गरेका छन्।
फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। ‘आ बाट आमा’को प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।