सुचना, समाचार र मनोरन्जन

पोउवा संघद्वारा पोखराका संचारकर्मीलाई भ्याटसम्बन्धी तालिम

पोखरा,

पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडीको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीसँग समन्वय गर्दै एकदिने तालिमको आयोजना गर्यो ।

करको इतिहास नियाल्दा २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन । तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो ।मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत् राजश्व बढाउने नीति पारित भयो ।

नेपालको निजी क्षेत्र त्यसको विरुद्धमा थियो । उनीहरुले भ्याटविरुद्ध उभिन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई दबाब दिइरहेका थिए । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिए–पोखराका आनन्दराज मुल्मी । सरकारले लिएको उदारीकरणको नीतिलाई समर्थन गरेको महासंघ र अध्यक्ष मुल्मीलाई गाह्रो भयो । जिल्ला–जिल्ला र खासगरी ठूला व्यवसायीहरुले दिएको दबाबका कारण उनी तनावमा परे । आर्थिक विकासको लागि वैज्ञानिक कर प्रणाली कार्यान्वयनमा आउनुपर्छ भन्नेमा उनी प्रष्ट थिए । भ्याट भनेको व्यवसायीले तिर्ने नभइ संकलन गरेर राज्यलाई बुझाउने हो र त्यो दायित्व निभाउँदा निजी क्षेत्रमाथिको भरोशा बढ्छ भन्ने बुझे पनि दबाब झेल्न उनलाई कठीन भयो । देशैभरका उद्योग वाणिज्य संघहरु भ्याटको विपक्षमा हुँदा उनी पोखरा आए । आफ्नो मातृ संस्था पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष र पदाधिकारीलाई अवस्थाबारे जानकारी गराए । भ्याटको महत्वबारे बुझाए । त्यसपछि पोखरा उद्योग वाणिज्य संघ भ्याट कार्यान्वयनको पक्षमा उभियो । तर,सुधार र कार्यान्वयमा ल्याउन समय माग भयो । अन्ततः २०५४ साल मंसिर १ गते नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आयो ।

अहिले नेपालको मुख्य राजश्वको श्रोत नै भ्याट बनेको छ । नेपालका उद्योग वाणिज्य संघहरुमध्ये पहिलोपटक भ्याटको पक्षमा उभिएको पोखरा उद्योग वाणिज्य संघले बुधबार भ्याट के हो भन्नेबारे संचारकर्मीहरुलाई पनि जानकारी गरायो ।

बुधबार उधोग बाणिज्य संघको भवनमा आयोजना गरिएको तालिम ‘भ्याट के हो र यसले राजश्वमा कति योगदान दिएको छ भन्ने कुरामात्र हैन, भ्याट कसरी तिर्ने,बिल–बिजक कसरी राख्ने अनि दण्ड–जरिवानाबाट कसरी बच्ने भन्ने कुरा पत्रकारले पनि थाहा पाउनुपर्छ भन्ने सोचेर आयोजना गरिएको हो,’आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भने,‘कतिपय अवस्थामा गलत सूचना जाँदा फलानो व्यवसायीले भ्याट छल्यो भन्ने अफवाहसमेत फैलिने गरेको छ । संचार जगतले भ्याटबारे जानकारी पाउँदा गलत समाचार आउँदैनन् भन्ने पनि हामीले ठानेका छौँ ।’
तालिमको उद्घाटन सत्रकी प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी सूचना दिनु र सही सूचना दिनु फरक कुरा भएको बताउँदै भ्याटबारे जानकारी राख्दा पत्रकारको दैनिक जीवनमा पनि त्यसले सघाउने बताइन् ।


नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले कर आफैंमा जटिल विषय भए पनि आम नागरिकको चासोमा रहने हुँदा सरल तरिकाले यसबारे बुझाउनको लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार तालिममा करिब ६५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । चार्टर्ड एकाउण्टेण्ट विवेक श्रेष्ठले सो तालिमको सहजीकरण गरेका थिए । संघकी महासचिव गौतमका अनुसार संघले इच्छुक संचारकर्मीको लागि दोस्रो चरणमा पनि भ्याटबारे तालिम दिने छ ।

Leave A Reply

Your email address will not be published.