सुचना, समाचार र मनोरन्जन

माओत्से गुरुङ फिल्म्सको ‘पेन्सन पट्टा’ प्याकअप

काठमाडौं :

चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनको छायांकनपछि सिनेमाको इन्डक्ल्याप गरिएको निर्माण टिमले जनाएको छ।

छायांकन सम्पन्न भएको जानकारी दिँदै निर्देशक गुरुङले दिन–रात नभनी खटिने सम्पूर्ण कलाकार तथा प्राविधिकप्रति आभार व्यक्त गरेका छन् । उनले भने, “सबैको मिहिनेतका कारण छायांकन सफलतापूर्वक सम्पन्न भएको छ ।”

हालसम्म सिनेमाको प्रदर्शन मिति तय गरिएको छैन। निर्देशक गुरुङका अनुसार अब केही दिनमै पोस्ट–प्रोडक्सनको काम सुरु हुनेछ । “पोस्ट–प्रोडक्सनमा कति समय लाग्छ, त्यसपछि मात्र रिलिज मिति घोषणा गरिनेछ,” उनले भने,“दर्शकलाई राम्रो र सुन्दर सिनेमा दिन चाहन्छौं, त्यसैले कुनै पनि कम्प्रमाइज नगरी काम गरिरहेका छौं ।”

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कलाकारको अभिनय रहेको छ।

सिनेमाको शीर्षकले भूतपूर्व लाहुरेको कथा झल्काए पनि कथावस्तु लोभी स्वभावको युवक कसरी दानी बन्छ भन्ने विषयमा आधारित रहेको निर्देशक तथा निर्माता गुरुङले बताएका छन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन्।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको सिनेमाका प्रोडक्सन म्यानेजर डिबी गुरुङ हुन् । छायांकन सुशन प्रजापतिले गरेका छन् भने कास्टिङ डाइरेक्टर सुरज तमु हुन्। सिनेमामा झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको संगीत रहनेछ।

निर्देशक माओत्से गुरुङको डेब्यु निर्देशन ‘दयारानी’ बक्सअफिसमा सफल भएको थियो । चरित्र अभिनेताका रूपमा परिचित उनी पछिल्लो समय लेखन, निर्देशन र निर्माणमा पनि सक्रिय छन् । यसअघि उनले गुरुङ भाषाका सिनेमाहरू निर्देशन गरेका थिए। ‘पेन्सन पट्टा’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.