सुचना, समाचार र मनोरन्जन

फिल्म ‘कुमारी’को आक्रामक प्रचार शैली: माघ १० गते भृकुटीमण्डपमा भव्य कन्सर्टसँगै ट्रेलर सार्वजनिक हुँदै, प्रवेश निःशुल्क

काठमाडौं :

माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित प्रेमकथानक फिल्म ‘कुमारी’ले आफ्नो प्रचार–प्रसारलाई आक्रामक र सङ्गीतमय बनाएको छ । देशका प्रमुख सहरहरूमा सांगीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टिमले आगामी माघ १० गते शनिबार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य सांगीतिक कन्सर्ट आयोजना गर्ने भएको छ । सोही विशेष समारोहका बीच फिल्मको बहुप्रतीक्षित अफिसियल ट्रेलर सार्वजनिक गरिने तयारी गरिएको छ ।

यसअघि माघ १ गते नेपालगन्जबाट सुरु भएको ‘कुमारी’को सांगीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी किनारमा भव्य रूपमा सम्पन्न भइसकेको छ ।

हजारौँ दर्शकको उत्साहजनक सहभागिता रहेको यस यात्राले फिल्मप्रति सर्वसाधारणको चासो उल्लेख्य रूपमा बढाएको निर्माण टिमको दाबी छ । पोखरा र चितवनमा प्राप्त सफलतापछि संघीय राजधानी प्रवेश गर्न लागेको ‘कुमारी’ टोलीले भृकुटीमण्डपको कार्यक्रमलाई अझ विशेष बनाउने योजना बनाएको हो ।

भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टमा फिल्मका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को मुख्य प्रस्तुति रहनेछ । साथै लोकप्रिय महिला गायन समूह ‘इस्त्रीज’ले पनि आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई झुमाउनेछन् । फिल्मका कार्यकारी निर्माता केदार भुसालले कन्सर्ट पूर्ण रूपमा निःशुल्क रहने जानकारी दिँदै दर्शकलाई कलाकार र संगीतसँग प्रत्यक्ष जोड्ने उद्देश्यले कुनै पनि प्रवेश शुल्क नराखिएको बताए ।

ट्रेलर सार्वजनिक कार्यक्रमका अवसरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, फिल्म युनिटका सदस्य, विभिन्न सेलिब्रेटी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने जनाइएको छ । निर्देशक राउतले मोफसलका सहरहरूमा दर्शकबाट पाएको अभूतपूर्व माया र क्रेजले आफूलाई निकै उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित फिल्म ‘कुमारी’को सांगीतिक यात्रा काठमाडौंपछि माघ १७ गते झापाको दमक पुगेर समापन हुनेछ ।

फिल्ममा समावेश ‘डोको बुन्ने’ गीतले युट्युबमा मात्र करिब पाँच करोड भ्युज नजिकको यात्रा तय गरिसकेको छ भने उक्त गीतमा आधारित लाखौँ टिकटक र रिल्स बनिसकेका छन् । साथै ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले पहिल्यै चर्चा कमाइसकेकाले माघ १० गते सार्वजनिक हुने ट्रेलरलाई लिएर दर्शकमाझ उच्च उत्सुकता देखिएको छ ।

Leave A Reply

Your email address will not be published.