सुचना, समाचार र मनोरन्जन

नेपाल र भारतबीच निकासी पूर्व सूचना आदानप्रदान सम्बन्धी समझदारी

नेपाल र भारतबीच निकासी गरिने वस्तु गन्तव्यमा आइपुग्नु अगाडी नै सूचना आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । हिजो भारतको नयाँदिल्लीमा भएको कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सिबीआइसी) का अध्यक्ष विवेक चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रमुख व्यापारिक साझेदार देशबीच जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्न निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदानप्रदान गर्ने व्यवस्था रहँदै आएको छ । त्यही अभ्यासलाई आत्मसात् गर्दै नेपाल र भारतबीच निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदानप्रदान गर्ने उद्देश्यले भारतको सिबीआईसी र नेपालको भन्सार विभागको सहकार्यमा समझदारीपत्रको मस्यौदा तयार गरिएको थियो ।

मस्यौदामाथि सरोकारवालासँग छलफल गरी अन्तिम रूप दिइएको समझदारीपत्रलाई नेपाल सरकार ९मन्त्रिपरिषद्०ले स्वीकृत गर्दै भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो ।

समझदारीपत्रमा जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा लाग्ने समय घटाई सुरक्षित अन्तरराष्ट्रिय व्यापार सुनिश्चित गर्ने, राष्ट्रिय कानुनले तोकेको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदानप्रदान गर्ने, सूचनाको उपयोग समझदारीपत्र अनुसार मात्र गर्ने, कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, दुवै पक्षबीच सहमति भइ तोकिएका वस्तुमा नमूनाका रूपमा कार्यान्वयन गरी क्रमशः सबै वस्तुमा लागू गर्ने व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.