पोखरा,
एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुदैँछ । खेल बिहान १० बजेदेखि सुरु हुनेछ भने खेलको उद्धघाटन दिउँसो १ः३० बजे हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।
माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । प्रतियोगिता सफल बनाउन सबै पक्षसँग आग्रह गरेका छन् । भलिबलको उर्वर भुमी गण्डकी प्रदेशको राजधानी पोखरामा नेपालको राष्ट्रिय खेल आयोजना गर्न पाउदा आफुहरु उत्साहित भएको र सफल बनाउन म सबैलाई आग्रह गरेका छन।
नेपाल भलिबल संघको स्वीकृति र समन्वयमा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी हुनेछन् । यस संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।
महिलातर्फ थाइल्याण्ड क्विन्स (थाइल्याण्ड) तथा पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ मैदान उत्रनेछन् ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले रु। ६ लाख ६६ हजार ६६६, दोस्रोले रु। ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु। २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु। २६,६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीहरूलाई रु। ११,६६६ बराबरको उपहारको व्यवस्था गरिएको छ।
दर्शकहरूका लागि रु. ३,५०० मूल्यको अनलाइन सिजनल टिकट खल्ती एप मार्फत उपलब्ध रहेको आयोजकले जनाएको छ । प्रत्येक खेलमा ‘टाइगर केल्मी अफ द म्याच’ घोषित खेलाडीलाई केल्मी नेपालका तर्फबाट सोभिनियर प्रदान गरिनेछ भने दैनिक टिकट काटी प्रवेश गर्ने दर्शकमध्ये एक जना भाग्यमानीलाई एक्सटेप नेपालको तर्फबाट टिसर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब रु १ करोड ८० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षक बनाउन एलईडी लाइट, एलइडी स्क्रिन डिजिटल बोर्ड, ठूलो क्षमताको प्याराफिट तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका सचिब डिबी नेपालीले जनाएका छन् । त्यस्तै उनले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।