सुचना, समाचार र मनोरन्जन

महिला केन्द्रित कथामा ‘रमिताको पिरती’, ट्रेलरले बढायो चासो

काठमाडौं :

आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरपछि चर्चामा आएको छ। नेपाली फिल्ममा प्रायः कथा नायक केन्द्रित हुने भए पनि यो फिल्मको कथा महिला पात्र रमिता वरिपरि केन्द्रित छ।

साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव फिल्मको मुख्य विषय हो। रमिताको भूमिकामा आना शर्मा देखिएकी छन्। फिल्ममा धिरज मगर र विनय श्रेष्ठको पनि मुख्य अभिनय रहेको छ। यसै फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनयमा डेब्यु गरेका छन्।

आना शर्मा यस फिल्ममा अभिनेत्रीका साथै कार्यकारी निर्माताको भूमिकामा पनि रहेकी छन्। उनका अनुसार फिल्म ब्रेकअपबाट सुरु भए पनि कथा त्यसपछि हुने आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रामा केन्द्रित छ। “यो केवल ब्रेकअपको कथा होइन, ब्रेकअपपछिको भावनात्मक यात्राको कथा हो,” आनाले भनिन्।

रमिता पात्र निर्माणका लागि निर्देशक सुदिप्तासँग करिब छ महिना तयारी गरेको आनाले बताइन्। सुरुमा कलाकारको रूपमा मात्र आबद्ध भए पनि पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै कार्यकारी निर्माताको जिम्मेवारी पाएको उनको भनाइ छ। फिल्मले विशेषगरी युवा पुस्ता र युवतीहरूलाई लक्षित सन्देश दिने आनाको विश्वास छ। सामाजिक सञ्जाल, बाह्य मान्यताको खोजी र त्यसले मानसिक अवस्थामा पार्ने प्रभावलाई पनि फिल्मले समेटेको उनले बताइन्।

सागर लम्साल निर्माता रहेको फिल्ममा सन्तोष लम्साल कार्यकारी निर्माता छन्। आर.पी. प्रोडक्सन एसोसिएट निर्माता हो भने सुवास कोइराला सह–निर्माता रहेका छन्। फिल्मको छायांकन शिशिर विषंखे,सम्पादन सुनिल सिवाकोटी,रंग संयोजन कपिल पराजुली र कोरियोग्राफी कृतिका बरालको रहेको छ। काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.