सुचना, समाचार र मनोरन्जन

‘शिवांश’ मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर

काठमाडौं :

 फागुन १ गतेदेखि हलमा प्रदर्शन हुने चलचित्र ‘शिवांश’ मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर सुनिन लागेको छ। निर्माणपक्षले जानकारी दिएको अनुसार फिल्ममा खेरको स्वरमा ‘शिव ताण्डव’ गीत समावेश छ।

निर्माणपक्षले नयाँ पोस्टर पनि सार्वजनिक गर्दै मुख्य पात्रहरूलाई देखाएको छ। पोस्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र भावमा, तेज गिरी रिसाहा मुद्रामा, रुसा न्यौपाने हेरिरहेकी, बिमला लिम्बू आश्चर्यमिश्रित भावमा र विकास जोशी हातमा डमरु बोकेर चिच्याइरहेका देखिन्छन्। पोस्टरमा चक्र र आगोको दृश्यले पात्रहरूको तनावपूर्ण जीवन र निराशाको संकेत दिएको छ।

महाशिवरात्रि नजिकिँदै फागुन १ गते रिलिज हुने फिल्म ‘शिवांश’बारे खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि विशेष भिडियो सन्देश पनि जारी गरेका छन्। आफ्नो ओजपूर्ण स्वरका लागि विश्वभर चर्चित खेरले नेपाली फिल्ममा समावेश ‘शिव ताण्डव स्तोत्रम्’ गायनको प्रसङ्गमा नेपाली श्रोताले दिएका माया र साथप्रति आभार व्यक्त गरेका छन्।

खेरले भने, “नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ भन्ने शब्द छैन। यस पटक भारत–नेपाल मैत्री सम्बन्धको सौजन्यबाट तयार पारिएको यो ‘ताण्डव स्तोत्रम्’ मा मेरो स्वर रहेको छ। म नेपाली दर्शक र श्रोताबाट ‘शिवांश’का लागि पहिले जस्तै माया र आशीर्वादको अपेक्षा गर्दछु।”

फिल्म अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको हो। यसका निर्देशक सन्तोष कुमार आत्रेय हुन्, जुन उनको डेब्यु निर्देशकीय फिल्म हो। निर्मातामा अञ्जान केसी रहेका छन्। प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुसा न्यौपाने मुख्य भूमिकामा छन्। विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा र टीका निरौला लगायतका कलाकारले पनि अभिनय गरेका छन्।

फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूको हो।गीत र संगीतमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको रचना रहेको छ। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले दिएका हुन्। स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको सहभागिता छ।

फिल्ममा द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गर्नेछन् भने कोरियोग्राफी विक्रम चोहानको हुनेछ। मिलन मानन्धर प्रोडक्सन म्यानेजर, प्रतीक चौधरी आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर, बारत लिम्बू मुख्य सहायक निर्देशक, सुलक्षण भारती स्क्रिप्ट डक्टर र सरद महतो डीओपी रहेका छन्। कार्यकारी निर्माता सम्भू थापा हुन्। फिल्म चौतारीले पोस्ट–प्रोडक्सन गरेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ।

Leave A Reply

Your email address will not be published.