सुचना, समाचार र मनोरन्जन

सुरक्षित पर्यटनका लागि जनप्रियका विद्यार्थीलाई इमर्जेन्सी फर्स्ट एड तालिम

पोखरा,
पोखरालाई विश्वस्तरीय दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ जनप्रिय बहुमुखी क्याम्पसका पर्यटन अध्ययनरत विद्यार्थीहरूका लागि दुई दिने विशेष प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

पोखरा पर्यटन परिषद् र जनप्रिय बहुमुखी क्याम्पसबीच भएको समझदारी पत्र कार्यान्वयन गर्ने क्रममा न्यून तथा उच्च भूभागमा हुने आकस्मिक प्राथमिक उपचार र घाइतेको स्थिरीकरण सम्बन्धी तालिम प्रदान गरिएको हो ।

पोखरा पर्यटन परिषद्ले सबै मौसमका लागि पर्यटन र दिगो पर्यटनको अवधारणामा काम गर्दै आएको छ । यसै अवधारणालाई मूर्त रूप दिन उद्योग र शैक्षिक संस्थाबीचको ज्ञान आदानप्रदान अपरिहार्य मानिन्छ । सोही अनुरूप पर्यटन क्षेत्रमा भोलिका दिनमा खटिने जनशक्तिलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक रूपमा समेत दक्ष बनाउन यो कार्यक्रम आयोजना गरिएको हो ।

तालिममा विशेषगरी ट्रेकिङ गाइड र सिटी टुर गाइडका रूपमा समेत कार्यरत विद्यार्थीहरूलाई सहभागी गराइएको थियो । उनीहरूलाई न्यून भूभागदेखि उच्च हिमाली क्षेत्रसम्म पर्न सक्ने आकस्मिक संकट र चोटपटकमा कसरी तत्काल उद्धार गर्ने र घाइतेको अवस्थालाई स्थिर राख्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय प्रशिक्षकहरू ट्रोय फिनबो, कालेब ब्रुन्सविग र लियाम डेलानेले प्रशिक्षण दिएका थिए ।

यो तालिम पश्चात् विद्यार्थीहरू लेभल २ को सीपबाट सुसज्जित भएका छन् । यसको अर्थ उनीहरू अब पर्यटन कार्यक्षेत्रमा मात्र नभई दैनिक जीवनमा आइपर्ने जुनसुकै स्वास्थ्य संकटलाई प्रभावकारी रूपमा सामना गर्न सक्नेछन् । दक्ष जनशक्ति कार्यक्षेत्रमा खटिँदा समग्र पर्यटन क्षेत्रको सुरक्षा र संरक्षाको सूचकमा सकारात्मक सुधार आउने अपेक्षा परिषद्ले राखेको छ ।

जनप्रिय बहुमुखी क्याम्पसको हलमा सञ्चालित सो कार्यक्रमको सभापतित्व सस्टेनेबल टुरिजम क्लबका अध्यक्ष समुद्र आचार्यले गरेका थिए ।प्रमुख अतिथिका रूपमा पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा भने सापकोटाले दक्ष मानव स्रोत उत्पादनका लागि क्याम्पस र पर्यटन उद्योगबीचको यो सहकार्य कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबाबु बराल, सहायक क्याम्पस प्रमुख नवीनराज खनाल, बीएमटीएम कार्यक्रम संयोजक दिब्यलक्ष्मी चालिसे लगायत अन्य फ्याकल्टी सदस्यहरू र बीएमटीएम संकायका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यस किसिमको सीपमूलक कार्यक्रमले पोखराको पर्यटनलाई सुरक्षित र भरपर्दो बनाउनुका साथै विद्यार्थीहरूलाई स्वरोजगार र सशक्त बन्न मद्दत पुर्‍याउने देखिएको छ । यस्ता पहलहरूले पोखराको पर्यटनलाई विश्वव्यापी रूपमा थप प्रतिस्पर्धी र दिगो बनाउन टेवा पुर्‍याउने निश्चित छ ।

Leave A Reply

Your email address will not be published.