काठमाडौं :
रोमान्टिक भावमा आधारित गीत ‘बेहाल’ राजधानीमा आयोजित औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अडियो र भिडियो एकसाथ सार्वजनिक गरिएको कार्यक्रममा गीतसँग सम्बद्ध स्रष्टा तथा संगीत क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकर्मी फणिन्द्र राई ले गीत हरेक दृष्टिकोणबाट उत्कृष्ट बनेको प्रतिक्रिया दिए। विशिष्ट अतिथिमा गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भुपेन्द्र महत तथा चलचित्र सेन्सर बोर्ड सदस्य एवं चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी लगायतको उपस्थिति थियो। वक्ताहरूले गीतको शब्द, संगीत र प्रस्तुतिलाई सशक्त रहेको बताएका थिए।
गीतमा भारतको कालिङपोङ निवासी गीतकार डा. देबेन्द्र प्रधान को शब्द, संगीतकार शंकर थापा ‘स्माइल’ को संगीत तथा गायक सुगम पोखरेल र गायिका रिता केसी को स्वर रहेको छ। विषम आचार्यको एरेन्जमेण्ट तथा किशोर थापाको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो निर्देशन केशव राज भट्ट ले गरेका हुन्। भिडियोमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय, दिनेश पराजुलीको छायांकन तथा डिन्सन शाहको सम्पादन रहेको छ।
कार्यक्रममा बोल्दै डा. प्रधानले भौगोलिक रूपमा भारतमा रहे पनि आफ्नो मन नेपाली साहित्य र संगीतमै रहेको उल्लेख गरे। सन् २०१९ देखि निरन्तर गीति लेखनमा सक्रिय उनी झण्डै एक दर्जन गीतका स्रष्टा हुन्। आधा दर्जन संगीतकारलाई शब्द उपलब्ध गराएकोमध्ये थापाको संगीत संयोजन उत्कृष्ट लागेको भन्दै सहकार्य गरिएको उनले बताए।
संगीतकार थापाले शब्दको भावअनुसार संगीत सिर्जना गर्ने प्रयास गरेको जनाउँदै आफूले यसपटक केही फरक स्वाद दिन खोजेको बताए। पन्ध्र सयभन्दा बढी गीतमा संगीत दिइसकेका उनका दुई दर्जनभन्दा बढी गीत ‘करोड क्लब’मा परिसकेको जानकारी पनि कार्यक्रममा दिइयो।
गायिका रिता केसीले उत्कृष्ट शब्द र संगीतमा स्वर दिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन्। निर्देशक भट्टका अनुसार गीतको छायांकन मुस्ताङदेखि पोखरासम्म चार दिनमा सम्पन्न गरिएको हो।
कार्यक्रममा उपस्थित वक्ताहरूले पछिल्लो समय बजारमा धेरै गीत सार्वजनिक भइरहे पनि गुणस्तरीय सिर्जना सीमित हुने उल्लेख गर्दै ‘बेहाल’ उत्कृष्ट गीतको सूचीमा पर्ने दाबी गरे। निर्माण पक्षले गीतले दर्शक–स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ।