सुचना, समाचार र मनोरन्जन

वैशाख १ मा ‘पहाड’ रिलिज हुने, पलायन र खाली बन्दै गएका बस्तीको कथा

काठमाडौं :

निर्देशक तुलसी घिमिरे को निर्देशनमा तयार फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले वितरकसँगको छलफलपछि औपचारिक रूपमा प्रदर्शन मिति तय गरेको जनाएको छ।

युवा जनशक्ति विदेश पलायन हुँदा उच्च पहाडी बस्तीहरू खाली हुँदै गएको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले त्यसबाट उत्पन्न सामाजिक र आर्थिक समस्यालाई चित्रण गर्ने निर्देशक घिमिरेको भनाइ छ। उनका अनुसार नेपाल र अन्तर्राष्ट्रिय प्रदर्शन समय मिलान गर्दै बाँकी प्राविधिक काम सम्पन्न गर्न सकिने हिसाबले मिति निर्धारण गरिएको हो। पारिवारिक विषयवस्तु भएकाले नयाँ वर्षको अवसर पारेर स–परिवार हलमा हेर्न मिल्ने समय रोजिएको उनले बताए।

‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठ र ‘चिनो’ पछि सुनिल थापासँग पुनः सहकार्य गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्ताको संयोजनले सकारात्मक परिणाम दिनेमा विश्वस्त देखिन्छन्। उनले पुराना जस्तै नयाँ कलाकारमा पनि पात्रप्रतिको समर्पण पाएको उल्लेख गरे। मानव बसोबासविहीन बन्दै गएका पहाडको कथा समेटिएको फिल्मले देशको दायित्व र आवश्यकतालाई दर्शकमाझ राख्ने उनको दाबी छ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओजस्वी केसी हुन् भने छायांकन प्रमोद प्रधान ले गरेका छन्। प्रधानले यसअघि घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’मा सहकार्य गरिसकेका छन्।

फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र सलोना बज्राचार्यलगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यू गराउँदैछन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइन सम्हालेकी छन्।

संगीत निर्देशन रञ्जित गजमेर ले गरेका छन् भने क्रिएटिभ निर्देशक भारती घिमिरे हुन्। सह–निर्मातामा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग रहेका छन्। नेपाल वितरण वैङ्कटेश इन्टरटेनमेन्ट ले गर्नेछ भने डायस्पोरा प्रदर्शन सेभेन सिज इन्टरनेशनल फिल्म्स ले सम्हाल्ने जनाइएको छ। पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले तयार गरेका हुन्। नयाँ वर्षको अवसरमा रिलिज तय गरिएको ‘पहाड’ ले समसामयिक सामाजिक यथार्थलाई हलसम्म ल्याउने अपेक्षा निर्माण टिमले गरेको छ।

Leave A Reply

Your email address will not be published.