सुचना, समाचार र मनोरन्जन

आना शर्माको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने

काठमाडौं :

यो वर्षकै उत्कृष्ट फिल्मको रुपमा चर्चा पाएको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ। भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले चलचित्रलाई मार्चको दोस्रो सातादेखि भारतका हलमा देखाउने जिम्मा लिएको छ।

कम्पनीले आफूहरु भारतको रिलिजका लागि निर्माताको रुपमा जोडिएको जनाउँदै ‘रमिताको पिरती’ को कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिजका लागि जुटेको बताएका छन्। निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै ‘रमिताको पिरती’भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो।

‘रमिताको पिरती’ले अहिलेको युवा युवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ। नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको चलचित्रले यथार्थपरक कथा वाचन र आफैँले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देशका लागि युवा दर्शकबाट प्रेरक प्रतिक्रियाहरु प्राप्त गरिरहेको छ।  इन्फिनिटीले चलचित्र ‘रमिताको पिरती’ले भारतीय युवा दर्शकको पनि मनोविज्ञानलाई समेटेको महसुस गर्दै भारतभर रिलिज गर्ने निर्णय गरेको जनाएको छ।

दक्षिण एसियाका कथा संसारभर पुर्याउने लक्ष्यसहित कम्पनीको स्थापना भएको हुँदा संसारले रुचाउने कथालाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउने लक्ष्यसहित ‘रमिताको पिरती’कोे वितरणमा जोडिएको इन्फिनिटीले जनाएको छ। यसले नेपाली चलचित्रलाई सीमा भित्र मात्र नभएर सीमाबाहिर पनि बजार विस्तारमा मद्दत पुग्ने जनाएको छ।

सहकार्यलाई लिएर इन्फिनिटीका प्रतिनिधिले भने,‘रमिताको पिरतीले आजको युवाको प्रेम जीवनलाई दुरुस्त देखाएको छ जुन भारतका दर्शकले पनि मजाले रिलेट गर्न सक्छन् । राम्रो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्न पनि जरुरी छ । हामी यो फिल्मलाई धेरै दर्शकसम्म पुर्याउँछौँ ।’
अहिले रिलिजका लागि भारतका हलसँग कुराकानी भइरहेकोे र चाँडै भारतका कुन कुन ठाउँमा कहिलेदेखि लाग्ने भन्ने जानकारी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। सुदिप्ताको निर्देशनमा बनेको ‘रमिताको पिरती’मा आना शर्माको मुख्य भूमिका रहेको छ। चलचित्रमा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी आदि कलाकारको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.