चितवन,
सरकारले क्वरेन्टीनमा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले समाधान भएको बताए ।
उनका अनुसार विगतका वर्षमा जिनाइन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएको थियो । साथै चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो । अहिले जिनाइन केरा प्रतिकोसा ३ रुपैयाँले बिक्री भइरहेको उनको भनाइ छ । गएको दशैँ, तिहारलगायत चाडपर्वमा जिनाइन केरा बिक्री नहुँदा किसान समस्यामा परेको भए पनि अहिले भने बिक्री बढेको उनले सुनाए।
चिनीचम्पा केराले पनि राम्रो मूल्य पाएको उनले जानकारी दिए । यो केरा अहिले घरीको ६०० रुपैयाँमा बिक्री भइरहेको छ । स्वदेशमा उत्पादन भएको केराले बजार र मूल्य पाउँदा किसानले राहत पाएको उनको भनाइ छ ।
नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त सरकारले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा आयातित केरा रोकिएको छ । जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको हो । उनले भने, ‘’नेपालमा टीआर फोर नामक रोग केरामा देखिएपछि क्वरेन्टीनमा कडाइ हुन थालेको छ । गएको मङ्सिर २ गतेदेखि आयातित केरामा क्वरेन्टीनमा कडाइ गर्न थालिएको उनले बताए ।
क्वरेन्टीनले जैविक खाद्य सुरक्षामा कडाइ नगर्दा गएको दशैँ र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले ६० करोड रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपरेको उनले जानकारी दिए । उनले भने, ‘अहिले केरा उत्पादन गर्ने किसानमा उत्साह बढेको छ । यही अवस्था रहेमा एक वर्षभित्र केरामा नेपाल आत्मनिर्भर बन्छ ।’ जैविक खाद्य सुरक्षामा कडाइ गरेपछि विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको उनले बताए ।
नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उनले यस विषयमा सरोकारवालाहरूले अनुगमन गर्न अनुरोध गर्नुभयो । उनले भने, ‘मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचना पाएका छौँ । यसलाई अनुगमन जरुरी छ ।’
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताए । उनका अनुसार अहिले जिल्लामा २ हजार हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । जसबाट वार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।
राज्यले क्वरेन्टीनमा जैविक खाद्य सुरक्षालाई निरन्तर कडाइ गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागिपरेको उनले बताए । यहाँ उत्पादित केरा चितवनसहित काठमाण्डौ, पोखरा, भैरहवालगायत मुख्य शहरहरूमा जाने गरेको छ ।