काठमाडौं :
फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ। किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो।
किरात राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग आबद्ध ८ वटा भाषिक संस्थाहरूको सह–आयोजनामा फिल्म प्रदर्शनी हुन लागेको हो। आजको बदलिँदो परिस्थितिमा किराती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट विचलित हुँदै गएको यथार्थलाई फिल्मले. मार्मिक रूपमा चित्रण गरेको छ। विशेषगरी किराती समुदायमा ‘नाक्छोङ’ (बिजुवा) को महत्व र यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह र मरणशरणमा पार्ने प्रभावबारे सचेतना जगाउने उद्देश्य फिल्मले राखेको छ ।
शो जेडी मल, नाथम रोड, जोर्डन, हङकङमा आयोजना हुन लागेको निर्माता ज्योतीराज राईले बताए। फिल्मका निर्देशक किरण राई हुन्। जसले यसअघि ‘लुङ्गा’ र ‘जिउपंचौ’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन्। फिल्मको लेखन पनि किरण राईकै रहेको छ। निर्माता ज्योतीराज राईका अनुसार फिल्म निर्माणको मुख्य उद्देश्य किराती परम्परा जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्नु हो।
फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, हेम दिलुङ्गछा राई , उदय शुब्बा कुरुङबाङ,सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई लगायतका कलाकारहरूको सशक्त अभिनय छ। बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्ममा राजन मुकारुङ र विष्णु किरातीका शब्द तथा दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत छ। फिल्मका निर्माता ज्योतीराज राईले यसअघि ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ जस्ता चर्चित फिल्म र टिभी सिरिजहरू निर्माण गरिसकेका छन्।
हङकङ प्रदर्शनका लागि दिलिप राईलाई सल्लाहकार चयन गरिएको छ भने राम ली थुलुङ यो कार्यक्रम को संयोजक रहनु भएको छ भने गजेन्द्र राई , भुपाल चाम्लिङ, धिरज बान्तवा, दीपक केशर साम्पाङ, दिनेश थुलुङ, प्रकाश कोयी ,लोकराज बायुङ, इमानशेर राई लगायतका कार्यसमिती का पदाधिकारीहरू सम्पर्क सूत्रका रूपमा रही कार्यक्रम सफल बनाउन लागी परिरहेका छन्।
नेपालमा भने यसको सार्वजनिक प्रदर्शन मिति तय भएको छैन। सार्वजनिक प्रदर्शन अघि फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। हङकङमा हुन लागेको यो प्रदर्शनीलाई किराती समुदायले आफ्नो पहिचान र संस्कृति संरक्षणको एउटा महत्वपूर्ण कडीका रूपमा लिएको छ ।