बागलुङ : बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो।
फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन भने सकेको छैन। विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो।
खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भए पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए। उनका अनुसार ढोरपाटनसँगै तमानखोला गाउँपालिकाका दुई शङ्कास्पद बिरामी रहेका उहाँको भनाइ छ। हालसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको शर्माले जानकारी दिए। दादुराको लक्षण देखिएका ३३ जनाको नमूना सङ्कलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको भनाइ छ।
हालसम्म पाँच हजार ९३४ जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। हालसम्म २०५ शङ्कास्पद बिरामी छन्। हाल चार बिरामी अस्पतालमा उपचाररत छन्। तमानखोलामा शङ्कास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका चारवटै पालिकामा खोप लगाउने योजना रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।