काठमाडौं :
निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’को पहिलो गीत सार्वजनिक भएको छ। आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको रोमान्टिक गीत रिलिज गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा नवनायक अशोक आर्यन र नव नायिका सृष्टि खड्का रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ भने शब्द रचना निर्देशक श्रेष्ठकै रहेको छ। गीतमा संगीत अनुप तिवारीको रहेको छ।
गीत रिलिज गर्दै निर्देशक रणधीर श्रेष्ठले फिल्म टेक्निकलरुपमा राम्रो बनेको र एक्सनमा केहि नयाँ प्रयोग गरिएको बताए। साउथ इन्डियन फिल्म ुकान्ताराु मा काम गरेका द्वन्द कलाकारहरुलाई काम गरेको दाबी गरे। नव नायक अशोक आर्यनले आफ्नो पहिलो फिल्म भए पनि आफुले सक्दो मेहनत गरेको बताए।
लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्म छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन्। ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिने जनाइएको छ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।
एक्सन विधामा निर्माण गरिएको यस फिल्ममा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। फिल्मको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो, जहाँ दक्षिण भारतीय कलाकारहरूको पनि अभिनय रहेको छ।
यस फिल्मको निर्देशक आफैले छायांकन तथा सम्पादन गरेका हुन्। द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्। फिल्मका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।