काठमाडौं :
आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ। ट्रेलरमा मुख्य पात्र सुहाना थापा र प्रकाश सपुतबीचको वैवाहिक द्वन्द्व र घरझगडा देखाइएको छ। छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र सिर्जना अधिकारीको जोडी भने निकै मिलेको देखिन्छ।
श्रीमतीलाई कुटेपछि खोज्न निस्किएको कथावस्तुले दर्शकलाई भावुक बनाउने संकेत गर्छ। मार्मिक प्रस्तुतीसहित ट्रेलरले फिल्मको कथा सामाजिक द्वन्द्व र रहस्यमय पक्षमा आधारित रहेको झल्काउँछ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस फिल्मले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई उजागर गर्ने अनुमान गरिएको छ। आगोको झिल्को र अँध्यारो पृष्ठभूमिमार्फत कथालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बाँनियालगायतको अभिनय रहेको छ। हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने कथा सुशील देवकोटाले लेखेका हुन्। छायांकन संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले गरेका छन्।
त्यसैगरी, भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने ट्रेलर तथा टिजर साहिल खानले सम्पादन गरेका छन्। ५.१ मिक्सिङ मुकेश शाहले गरेका हुन्। निर्माण संयोजन नगेन्द्र घिमिरेको रहेको छ।
फिल्ममा पाश्र्व संगीत किरण तुलाधर, संगीत शान्ति ठटाल, सत्य–स्वरूप र प्रकाश सपुतको रहेको छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ। भेषभूषा डिजाइन सुजन परियार, श्रृंगार मदन न्यौपाने र केश विन्यास रोनिशा अधिकारीले सम्हालेका छन्। पोस्टर डिजाइन आइडियल डिजाइनर्सले तयार पारेको हो भने कला निर्देशन प्रतिक चौधरीले गरेका छन्।
फिल्मका मुख्य सहायक निर्देशक करणबहादुर साउद रहेका छन् भने सह-निर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल छन्। वितरण आरआर फिल्म्सले गर्नेछ भने ओएसआरले ओटीटी अधिकार लिइसकेको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित यस फिल्मको शीर्षकमा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशन गरेका थिए।