सुचना, समाचार र मनोरन्जन

पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’को पत्रकार सम्मेलन सम्पन्न

सर्लाही :

सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’को पत्रकार सम्मेलन सम्पन्न भएको छ। महोत्सव आगामी वैशाख १५ देखि १७ गतेसम्म चन्द्रनगर गाउँपालिकामै आयोजना हुने भएको छ।

पत्रकार सम्मेलनमा महोत्सवका अध्यक्ष रघुनाथ सापकोटा, गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत सर्लाहीका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको यो महोत्सव पहिलो पटक तराई क्षेत्रमा हुन लागेको हो। सेलिब्रेटी नेपालका अध्यक्षसमेत रहेका सापकोटाका अनुसार ग्रामीण कथा र मधेशी संस्कृतिमा आधारित फिल्मलाई प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक सर्लाहीमा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी फिल्मको आवेदन परेकोमा १७ वटा फिल्म छनोट गरिएको छ। महोत्सवमा प्रदर्शन हुने सबै फिल्म दर्शकले निःशुल्क हेर्न पाउनेछन्।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले यस्ता किसिमका महोत्सवले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने बताए।

नेपाली मौलिक फिल्मप्रति दर्शकको आकर्षण बढाउने, नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्ने, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए। पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो प्रतिष्ठा अझ उँचो बनाएको उनको दाबी छ।

Leave A Reply

Your email address will not be published.