काठमाडौं :
पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा निकै रुचाइएकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’को संयुक्त सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ बाट प्रशंसाले अभिनेत्रीका रूपमा आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेकी हुन्।
यस चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को पावन अवसर पारेर गरिएको थियो । लामो समयदेखि टेलिभिजन पर्दामा ‘भद्रगोल’ र ‘सक्किगो नि’ जस्ता हिट सिरिजमार्फत दर्शकको मन जित्दै आएका जिग्री र काकुको यो सहकार्यलाई चलचित्र वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यो चलचित्रलाई दीपकले निर्देशन गर्दैछन् भने यसको कथा कुमारको हो। चलचित्र ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ। चलचित्रको मुख्य विषयवस्तु दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कुमार कट्टेलले जानकारी दिए। उनका अनुसार फिल्मको कथा अहिलेकै समयको हो। चलचित्रमा सविन अधिकारी र बसन्त न्यौपाने लेखकका रूपमा छन्।
यसअघि दीपकप्रसाद आचार्यले निर्देशन गरेको चलचित्र ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो। त्यस्तै, कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो। हाल चलचित्रको स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको छ। निर्माण पक्षका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र फिल्मको छायांकन सुरु गर्ने तयारी छ। करिब ८ वर्षदेखि टेलिभिजनमा निरन्तर सहकार्य गरिरहेका जिग्री र काकुको यो ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली चलचित्रमा नयाँ स्वाद दिने अपेक्षा गरिएको छ। त्यस्तै, लाखौँ फलोअर्स कमाएकी प्रशंसा रायमाझीको डेब्युले फिल्मप्रति युवा दर्शकको आकर्षण थप बढ्ने निश्चित देखिन्छ।