काठमाडौं :
अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहेको सिनेमा ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको प्रिभ्यूसँगै आगामी जेठ ८ गतेलाई औपचारिक रूपमा प्रदर्शन मिति तय गरिएको हो।
सिनेमालाई लिएर अभिनेता विपिन कार्की निकै उत्साहित देखिएका छन्। हालै आयोजित एक प्रिमियर कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ‘काजी’लाई क्लासिक लभस्टोरीको रूपमा चित्रण गरेका छन्। उनले यस सिनेमाले आफ्नै अघिल्लो प्रोजेक्ट ‘उनको स्वी’ जस्तै दर्शकलाई सरप्राइज दिन सक्ने विश्वास व्यक्त गरे। साथै, उनले कथावस्तुलाई लक्ष्मीप्रसाद देवकोटा को चर्चित कृति ‘मुनामदन’ जस्तै गहिरो प्रेमकथासँग तुलना गरेका छन्।
सिनेमामा केकी अधिकारी कजिनी पात्रमा देखिएकी छन्। सार्वजनिक प्रिभ्यूले दर्शकमाझ उत्सुकता बढाएको निर्माण टिमको दाबी छ। विवाहपश्चात् एक जोडीबीचको प्रेमलाई केन्द्रमा राखेर तयार गरिएको सिनेमाले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। प्रिभ्यूमा देखिएको ग्रान्ड मेकिङ र प्रभावशाली संवादले समेत ध्यान तानेको छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ। रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन र कालिप्रसाद बास्कोटाको संगीत रहेको छ। ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले देशभर वितरण गर्नेछ।