पोखरा :
डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मको सोमबार कास्कीको धिताल गाउँमा कलाकार राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम दृश्य खिच्दै ‘प्याकअप’ गरिएको हो।
३५ दिनको तालिका बनाइएको भए पनि मौसमको प्रतिकूलताका कारण ३७ दिन लगाएर छायांकन सकिएको निर्माण टिमले जनाएको छ। पोखराको अर्मलाकोट मन्दिरबाट सुरु गरिएको सुटिङ अर्मलाकोट, धिताल, घार्मी र बगरजस्ता स्थानहरूमा गरिएको थियो।
छायांकनका क्रममा निरन्तर वर्षाले चुनौती थपेको थियो। तर, प्रतिकूल मौसमका बाबजुद पनि टिमले काम रोकेको थिएन। अन्तिम चरणमा त लगातार ३० घण्टासम्म सुटिङ गरिएको निर्देशक आकास बराल बताए।
“जति गाह्रो अवस्था भए पनि सेटमा हाँसो कहिल्यै रोकिएन,” उनले भने, “त्यो ऊर्जा पर्दामा पनि देखाउन सके मात्र हाम्रो मेहनत सफल हुन्छ।”
सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको फिल्ममा अभिनेता विजय बराल फरक भूमिकामा देखिनेछन्। यद्यपि, उनको क्यारेक्टरबारे भने निर्माण पक्षले अझै रहस्य कायम राखेको छ।
फिल्मको कथा एक विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किँदासम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने घटनाक्रम वरिपरि घुम्छ। यसअघि नै यसको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भइसकेको छ।
चलचित्रमा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ।
मोती कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई निशाल पौडेलले छायांकन गरेका हुन्। सम्पादन चानस पुन मगर, रङ्ग संयोजन राजेन्द्र मोक्तान, संगीत अङ्कित बाबु अधिकारी र शब्द युवराज काफ्लेको रहेको छ।
रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले पब्लिसिटी डिजाइन गरेको यो फिल्मलाई काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन्। निर्देशक बरालका अनुसार फिल्म यस वर्षको वडा दसैँभन्दा अगावै प्रदर्शनमा आउनेछ।