सुचना, समाचार र मनोरन्जन

स्वस्तिमा केन्द्रमा ‘लालीबजार’को तेस्रो गीतको झलक बाहिरियो

काठमाडौं :

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ। निर्माण कम्पनी षट्कोण आर्ट्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छन् भने कोरसमा रञ्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको स्वर रहेको छ। गीतमा प्रकाश सपूतको शब्द तथा सङ्गीत रहेको छ।

सार्वजनिक अंशमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत देखिएका छन्। गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन्। गीतमा नारी सुन्दरताको चित्रण गरिएको छ र यसको केन्द्रमा स्वस्तिमा खड्का छिन्। सार्वजनिक भएसँगै गीत टिकटक, फेसबुक रील्स र युट्युब शर्ट्समा प्रयोग हुन थालेको छ।

गीतको पूर्ण संस्करण भने फिल्मसँगै आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ। यसअघि वैशाख ४ गते सार्वजनिक गरिएको ‘लालीबजार’ को ट्रेलर दर्शकले मन पराएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्तासँगै विभिन्न सेलिब्रेटीले पनि ट्रेलरको प्रशंसा गरेका छन्। षट्कोण आर्ट्सद्वारा निर्मित फिल्मको ट्रेलर सार्वजनिक भएलगत्तै युट्युब ट्रेन्डिङमा पर्न सफल भएको थियो।

हाल ट्रेलर मुभी चार्टतर्फ दोस्रो स्थानमा रहेको छ। ट्रेलरमा स्वस्तिमा खड्कासँगै रवीन्द्र सिंह बानियाँ, बालकलाकार समाइरा थापा तथा डेब्यु कलाकार प्रशंसा सुवेदी र विशाल देवकोटाको अभिनयलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

फिल्म आमाछोरीको कथामा आधारित छ। ट्रेलरमा बादी समुदायमा प्रचलित ‘नाथिया’ जस्तो कुप्रथालाई पनि प्रस्तुत गरिएको छ। छोरीको रक्षाका लागि आमाले गर्ने संघर्षलाई कथाको मुख्य आधार बनाइएको छ, जहाँ स्वस्तिमा खड्काले आमाको भूमिका निर्वाह गरेकी छन्।

षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ। यद्यपि ‘लालीबजार’ मा निर्देशनको जिम्मेवारी प्रदीप भट्टराईले यम थापालाई दिएका छन्।

निर्देशक यम थापाले ‘रज्जा रानी’, ‘हुर्रे’ र ‘मेरी मामु’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’ र ‘परान’ लगायतका फिल्ममा पटकथा लेखन गरेका छन्। कथामाथि छलफलका क्रममा षट्कोण आर्ट्ससँग उनको सहकार्य भएको हो।

फिल्मको पटकथा अन्तिम चरणमा पुगेपछि छायांकन स्थल अवलोकनका क्रममा निर्देशक प्रदीप भट्टराईले ‘लालीबजार’ नाम प्रस्ताव गरेका थिए, जसमा सम्पूर्ण टिम सहमत भएको थियो।

यसअघि सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ पनि दर्शकमाझ लोकप्रिय भइसकेका छन्। बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, विरवल चौधरी लगायतका कलाकारको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन्। विशाल थियटरमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय छन् भने प्रशंसा जेन–जी पुस्ताकी उदीयमान अभिनेत्री हुन्।निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद उनले प्रदीप भट्टराईसँग मिलेर तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्र सिंह बानियाँ निर्माता रहेका छन्। फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, सङ्गीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइबा रहेका छन्।

Leave A Reply

Your email address will not be published.