सुचना, समाचार र मनोरन्जन

पोखराको मानवसेवा आश्रमको १४ औं महायज्ञ वैशाख १९ गतेदेखि

पोखरा,

पोखराको मानवसेवा आश्रम १४ औं महायज्ञको तयारीमा जुटेको छ । समाजमा आध्यात्मको सन्देश छर्न तथा निर्माणाधीन भवनको काम पुरा गर्न था रकम आवस्यक हुने भएपछि महायज्ञ लगाउन लागिएको हो । महायज्ञ बैशाख १९ देखि २६ गतेसम्म संचालन हुनेछ ।

मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले जानकारी दिए ।

‘पोखरामा बन्दै गरेको मानवसेवा आश्रमको निर्माणका लागि केही रकम अपुग हुने भएपछि हामीले महायज्ञको आयोजना गर्न लागेका हौं । यसअघि नेपथ्य लाइभ कन्सर्टको समेत आयोजना गरिएको यहाँहरुलाई विदितै छ । लक्ष्मी नारायण मन्दिरको निर्माण कार्य सम्पन्न गर्नेदेखि आश्रमको अक्षयकोष श्रीवृद्धिमा समेत यो कार्यक्रमबाट मदत पुग्ने विश्वास लिएका छौं’, उनले भने ।

जन्मिएर सामान्य न्यूनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै मानव सेवा आश्रमले सेवा प्रवाह गरिरहेको उनले बताए ।

असहाय र अशक्तहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०८३ आयोजना गर्न लागिएको उनले उल्लेख गरे ।

महायज्ञ अवधिभर कथावाचक कमल नयन गौतमले कथाबाचन गर्नेछन । मानवसेवा आश्रमले आयोजना गर्ने गरेका महायज्ञमा गौतमले दक्षिणा विना नै सहयोग गर्ने गरेका छन ।
महायज्ञमा नियमित रुपमा बिहान ५ः३० बजेदेखि ७ः३० बजेसम्म योग शिविर, ७ बजेदेखि पुजा एवं पाठपारयाण ७ः३० देखि १० बजेसम्म विद्यार्थीमाझ उत्प्रेरणात्मक कार्यक्रम बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसादग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । प्रत्यक दिन स्वास्थ शिविरको समेत व्यवस्था छ ।

मानवसेवा आश्रमको भवन निर्माणको कार्य करिब ६०प्रतिशत सम्पन्न भैसकेको छ । स्थानीय, प्रदेश र संघ सरकारको सहयोगबाट नै आफूहरुले भवन निर्माणको कार्यलाई अगाडि बढाएको अधिकारीले बताए । तर दीर्घकालिन सोचअनुसारको योजना बनाउँदै थप परिस्कृत रुपमा मानवसेवा आश्रम अघि बढिरहेको उनले बताए ।

मानव सेवा आश्रमको संचालनमा ४० प्रतिशत अपनत्व सरकारको छ भने बाँकी सहयोगी मनहरुको रहेको जानकारी उनले गराएका छन् । ७० प्रतिशत अधिकार सरकारले लिएर बाँकी ३० प्रतिशत अधिकार सहयोगी मनहरुलाई सुम्पिने लक्ष्य मानव सेवा आश्रमको छ ।

अधिकारीका अनुसार मानव सेवा आश्रमले पोखरामा बन्दै गरेको भवन जस्तै अन्य १५ जिल्लामा समेत निर्माण गरिरहेको छ । मानव सेवा आश्रमले अहिलेसम्म सहयोगी दाताहरुको सहयोगबाट नै खर्च व्यवस्थापन गरिरहेको उनको भनाई छ ।

मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ ।

हाल आश्रमले मुलुकभरबाट झण्डै आठ हजार सडक आश्रित मानवको उद्दार गरिसकेको छ । त्यसमध्ये एक हजारलाई पुन परिवारमा मिलन गराउन सफल भएको छ ।

पोखरा आश्रमले मात्र एक हजार जनाको उद्दार गरिसकेको जानकारी मानव सेवा आश्रमले गराएको छ । छोरेपाटन स्थित सेवा केन्द्र र हेमजा स्थित सेवा केन्द्रमा गरि १६३ जना सडकआश्रित मानवहरुले सेवा प्राप्त गरिरहेका छन् ।

हालसम्म पहिलो तल्लाको निर्माण पूरा हुने चरणमा छ । अब भोजनका लागि डाईनिङ हल, स्टोर, भवनको दोस्रो, तेस्रो तल्लाको निर्माण, लिफ्ट, आँगन, कम्पाउन्ड, मेडिकल, थेरापि कक्ष निर्माण हुन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.