सुचना, समाचार र मनोरन्जन

निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न आग्रह, सरकार समस्या समाधानमा प्रतिबद्धः रवि लामिछाने

काठमाडौं,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै सरकार उद्योगी–व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्।

निजी क्षेत्रसँगको छलफल कार्यक्रममा लामिछानेले आफू धेरै बोल्नभन्दा पनि निजी क्षेत्रका समस्या, सुझाव र अनुभव सुन्न उपस्थित भएको बताएका हुन्। उनले रास्वपाले बाचापत्रमार्फत आर्थिक विकास, निजी क्षेत्रको समस्या समाधान र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा स्पष्ट रोडम्याप अघि सारेको उल्लेख गरे।

उनले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। सरकार बाचापत्रअनुसार अघि बढिरहेको उल्लेख गर्दै लामिछानेले निजी क्षेत्रका जायज माग र सरोकारमा सरकार सकारात्मक रहेको बताए।

निजी क्षेत्र डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै उनले सरकार व्यवसायीलाई दुःख दिने पक्षमा नरहेको बताए। तर केही सीमित समूहले देशको अर्थतन्त्र नियन्त्रण गर्ने प्रयास गरेकाले सरकारले कडाइ गर्नुपरेको उनको भनाइ थियो।

लामिछानेले आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ जानुपर्ने चुनौती रहेको उल्लेख गर्दै रुग्ण उद्योग सञ्चालन, उत्पादन वृद्धि र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए।

रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले १० जनामध्ये ८ जनालाई निजी क्षेत्रले नै रोजगारी दिने अवस्था रहेकाले निजी क्षेत्रको सहयोगबिना आर्थिक विकास सम्भव नरहेको बताए।

जलविद्युत कम्पनीहरूको आईपीओ जारी गर्ने विषयमा सरकार स्पष्ट रहेको उनले बताए। घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न दिएर जनताको लगानी जोखिममा पार्न नसकिने उनको भनाइ थियो।

आयकरको सीमा पुनरावलोकन, सनसेट ल, एमआरपी लगायत विषय आगामी बजेटमार्फत सम्बोधन गरिने उनले जानकारी दिए। एलडीसी ग्राजुएसनपछि देखिन सक्ने असर न्यूनीकरणका लागि पनि सरकार आवश्यक कदम चाल्न तयार रहेको बताए।

लामिछानेले सरकारले सही नीति बनाएर निजी क्षेत्रलाई सहज वातावरण दिने, कुनै स्वार्थ नराख्ने र उत्पादन तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण, लाइसेन्स प्रक्रिया छिटो बनाउने, वन ऐन सुधार, सुशासन र आर्थिक वृद्धिका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।

खोलाकिनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने उल्लेख गर्दै उनले कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पारे।

आगामी दिनमा निजी क्षेत्रसँग निरन्तर संवाद गर्दै उनीहरूको आवश्यकता र सुझावका आधारमा सरकार अघि बढ्ने लामिछानेले बताए।

Leave A Reply

Your email address will not be published.