तराईका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘कृत्रिम गन्ध सङ्केत’ प्रविधिको परीक्षण शुरु गरिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तुलाई मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याइएको हो ।
तराई भूपरिधि तथा संरक्षण कार्यक्रम अन्तर्गत शुरु गरिएको यस प्रविधिले वन्यजन्तुको प्राकृतिक व्यवहारलाई आधार मानेर ‘अदृश्य सीमा’ निर्माण गर्ने लक्ष्य राखेको छ । कार्यक्रमका प्रबन्धक भरत भट्टका अनुसार बाघ र चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न गन्ध प्रयोग गर्ने स्वभावलाई अनुकरण गर्दै कृत्रिम गन्ध प्रयोग गरिएको हो ।
यसले जनावरलाई आफ्नो क्षेत्रमा अर्को प्रतिस्पर्धी आएको अनुभूति गराएर बस्ती नजिक आउनबाट रोक्ने काम गर्छ । अहिले ३० वटा रणनीतिक ठाउँमा क्यामेरा र विशेष ‘डिस्पेन्सर’ जडान गरी गन्ध फैलाउने व्यवस्था गरिएको छ ।
यी उपकरणले निश्चित अवधिसम्म गन्ध फैलाएर वन्यजन्तुलाई फर्कन बाध्य बनाउने छ । प्रयोग गरिएका गन्ध मानव र वन्यजन्तु दुवैका लागि सुरक्षित रहेको छ । पाँच वर्षे अनुसन्धान परियोजनाका रूपमा सञ्चालन गरिएको कार्यक्रमको मुख्य उद्देश्य वन्यजन्तुलाई मानव बस्तीबाट सुरक्षित दूरीमा राख्नु हो ।
‘टी’ आकारको पाइपमार्फत प्रयोग गरिने केमिकल एकपटक राख्दा झण्डै एक महिनासम्म प्रभावकारी हुन्छ । प्रविधि सफल भएमा वन्यजन्तुबाट हुने क्षति घट्नुका साथै तारबारजस्ता संरचनामा हुने खर्चसमेत कम हुने अपेक्षा गरिएको छ ।