सरकारले भारतीय पर्यटक तथा भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रिने पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा शुरु गरेको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने पर्यटकवाहक गाडीले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । भन्सार विभागले सञ्चालन गरेको प्रणालीको हिजो मंगलबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले शुभारम्भ गर्नुभयो ।
नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपाल भित्रिने भारतीय पर्यटक तथा तेस्रो देशका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजश्व तिर्न सक्ने भएका छन् । यसअघि भन्सार नाकामा आएर यस्ता गाडीले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो ।
साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने बाध्यता थियो । तर, नयाँ अनलाइन प्रणाली शुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो साधनको इजाजत पत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन् ।
अर्थमन्त्री डा।वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताउनुभयो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी गाडीको इजाजत अब डिजिटल भएको बताउनुभयो । नेपाल सरकारलाई तिर्नुपर्ने राजश्व पनि त्यस्ता पर्यटकवाहक गाडीले अनलाइनबाट वा बैङ्क काउन्टरबाट तिर्न सक्छन् ।
अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्युआर कोड देखाएरै नेपाल छिर्न सक्ने महानिर्देशक मैनालीले बताउनुभयो । प्राप्त क्युआर नै बोकेर पर्यटकवाहक गाडी आफ्नो गन्तव्यमा पुग्न सक्ने भन्सार विभागले जनाएको छ । आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि नेपालस्थित ठेगानाबाट अनलाइनमार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् ।
यो सबै सेवा लिनका लागि भन्सार विभागको वेबसाइटमा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ । सबै विवरण अद्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्युआर कोड प्राप्त हुन्छ । त्यसैका आधारमा आफूले तिर्न पर्ने शुल्क तिरेर ती गाडी नेपाल भित्रिन सक्छन् ।
विभागका अनुसार राष्ट्रिय एकद्धार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो । तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने साधनका लागि लागू गरिएको भन्सार विभागले जनाएको छ ।
चिनियाँ नाका भएर स्थल मार्गबाट चिनियाँ गाडीसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूको हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बङ्गलादेशका पर्यटक लाभान्वित हुने विश्वास छ ।