काठमाडौँ :
‘मकै बारी दराम दराम’ बोलको गीतबाट चर्चामा रहेकी चर्चित लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफलता प्राप्त गरेकी छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी गायिका ठकुरीले ३.२५ जीपीए (ए ग्रेड) हासिल गर्दै उत्तीर्ण भएकी हुन्। १४ वर्षको लामो शैक्षिक अन्तरालपछि पुनः अध्ययनलाई निरन्तरता दिएर सफलता प्राप्त गरेकी उनले सामाजिक सञ्जालमार्फत यो खुसी आफ्नो कल्पनाभन्दा बाहिरको रहेको उल्लेख गरेकी छन्।
काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरी कपनको दीक्षालय स्कुलबाट परीक्षा दिएकी सुष्माले व्यक्तिगत जीवनका उतारचढावका कारण बीचमै रोकिएको पढाइलाई अहिले आएर पूरा गरेकी हुन्। वि.सं. २०७९ सालमै परीक्षा दिनुपर्ने भए तापनि सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका कारण उनले आफ्नो शिक्षालाई अगाडि बढाउन पाएकी थिइनन्। साङ्गीतिक क्षेत्रमा स्थापित भइसकेपछि पनि शिक्षाको महत्त्वलाई आत्मसात् गर्दै उनले देखाएको यो दृढता र प्राप्त नतिजा धेरैका लागि प्रेरणादायी बनेको छ।