सुचना, समाचार र मनोरन्जन

विवाहपछिको प्रेम र उतारचढाव: यस्तो छ विपिन र केकीको ‘काजी’

काठमाडौं :

आगामी जेठ ८ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘काजी’ को औपचारिक ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेण्ड लामो ट्रेलरले सिनेमाको मुख्य कथावस्तु र पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई केन्द्रमा राखेको छ।

विशेष गरी विवाहपश्चात् एक जोडीको जीवनमा आउने प्रेम र पारिवारिक संघर्षलाई ट्रेलरमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरमा अभिनेता विपिन कार्कीलाई ‘काजी’ र अभिनेत्री केकी अधिकारीलाई ‘कजिनी’ को भूमिकामा प्रस्तुत गरिएको छ। भव्य मेकिङ र प्रभावकारी संवादका कारण ट्रेलरले दर्शकमाझ चलचित्रप्रति थप कौतुहलता सिर्जना गरेको छ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको यस सिनेमामा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने,रश्मी भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ।

प्रदीप भारद्धाजको लेखन रहेको यस चलचित्रमा कालिप्रसाद बास्कोटाको संगीत र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ। चिन्तन राजभण्डारीले छायांकन गरेको यस सिनेमालाई बिपिन मल्लले सम्पादन गरेका हुन्। यसअघि सार्वजनिक पोस्टर र ‘वारि बर, पारी पीपलु’ बोलको गीतले चर्चा कमाइसकेको अवस्थामा ट्रेलर सार्वजनिक भएसँगै निर्माण पक्ष चलचित्रको व्यावसायिक सफलताप्रति उत्साहित देखिएको छ। चलचित्रलाई श्रीराम बालाजी फिल्मस्‌ले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ।

Leave A Reply

Your email address will not be published.