सुचना, समाचार र मनोरन्जन

फिल्म ‘एक मुठ्ठी बादल’ को प्रिमियरमा बेहुली अवतारमा देखिएकी आँचल शर्मा

काठमाडौं :

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’को प्रिमियर बुधबार राजधानीमा सम्पन्न भएको छ। प्रिमियर कार्यक्रममा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मा डिजाइनर मनिस राईले तयार पारेको रातो रंगको गाउन र लामो घुम्तोमा बेहुली अवतारमा सजिएर प्रवेश गरेकी थिइन्। उनलाई महिला नौमति बाजा समूहले स्वागत गरेको थियो।

साहारा शर्माद्वारा निर्देशित यस फिल्मको प्रिमियरमा पनि फिल्ममा जस्तै महिलाको उपस्थितिलाई केन्द्रमा राखिएको देखिन्थ्यो। फिल्ममा आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारी र त्यससँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रणका कारण प्रिमियरमा उपस्थित दर्शकबाट फिल्मले प्रशंसा पाएको छ।

निर्देशक सहारा शर्माले ‘एक मुठ्ठी बादल’ नेपाली फिल्ममा प्रायजसो नदेखाइने महिलाका भावना र अनुभवहरूमा आधारित रहेको बताइन्। फिल्मका निर्माताहरू अभिमन्यू दिक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले निर्देशकसँगै अतिथिहरूलाई स्वागत गरेका थिए। प्रिमियरपछि आयोजित अन्तरक्रिया सत्रमा फिल्म निर्माण, प्रतिनिधित्व तथा समकालीन सिनेमामा स्थानीय कथाहरूको महत्त्वबारे छलफल गरिएको थियो।

निर्माता अभिमन्यु दीक्षितले मनदेखि एउटा फिल्म बनाएको बताउँदै अब यसलाई हेर्ने र धेरै दर्शकमाझ पुर्‍याउने जिम्मा दर्शकको हातमा रहेको उल्लेख गरे। ‘एक मुठ्ठी बादल’ यही शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ भने यसका लागि अग्रिम टिकट बुकिङ समेत खुला भइसकेको छ।

Leave A Reply

Your email address will not be published.