सुचना, समाचार र मनोरन्जन

अमेरिकामा सातौं ‘एफएलएफ अवार्ड’ हुने, विभिन्न विधाको मनोनयन सार्वजनिक

काठमाडौं :

फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिको आयोजनामा अमेरिकामा सातौं संस्करणको ‘एफएलएफ अवार्ड’ आयोजना हुने भएको छ। भाषा र संस्कृतिको उत्थानका लागि निर्माण गरिएका चलचित्र तथा म्युजिक भिडियोहरूलाई समेटेर आयोजना गरिन लागेको यस अवार्डका लागि आयोजकले विभिन्न विधाका मनोनयनहरू सार्वजनिक गरेको छ।

अवार्डलाई निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि पाँच सदस्यीय निर्णायक मण्डल समेत गठन गरिएको छ। जसमा अंकित शर्मा, विनोद शेरेङ, आशिष लिङ्देन, याशेली योङहाङ र वसन्ती राई निर्णायकका रूपमा रहेका छन्।

आयोजकले सार्वजनिक गरेको मनोनयन सूची अनुसार उत्कृष्ट नायकको विधामा रोहित रुम्बा, सोम लामा, रुद्र पाहिम र उमेश गुरुङ प्रतिस्पर्धामा छन्। त्यस्तै, उत्कृष्ट नायिकाको विधामा लक्ष्मी योङहाङ, विमला खाजुम, निश्मा जिमी, बिपना आङबुहाङ र पुष्पाञ्जली लिम्बु मनोनयनमा परेका छन्।

फिल्म विधातर्फ नाकछुङ, तङसिङ र चे मनोनयनमा पर्न सफल भएका छन् भने निर्देशनतर्फ सागर केरुङ र दिपक तामाङबीच प्रतिस्पर्धा हुनेछ। गायन विधामा भीम मगर, जेपी नेम्वाङ, शम्भु फोम्बो, डिआर हाङसरुम्बा, मिरा फियाक, निरन्ता नेम्वाङ, मनु नेम्वाङ, एन्जिला नेम्वाङ, राजकुमार लिङदेन, पुर्ण सेलिङ र नन्दु तुम्बापो मनोनयनमा समेटिएका छन्।

यसैगरी, प्राविधिक विधातर्फ द्वन्द्वमा पुन्य ओझा र बाबु तामाङ तथा नृत्यमा दिनेश माङमु, जनक कार्की र एन्जल तामाङ मनोनयनमा परेका छन्। नेपाली तथा विभिन्न मातृभाषाका सिर्जनाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले यो अवार्ड अमेरिकामा आयोजना गर्न लागिएको हो।

Leave A Reply

Your email address will not be published.