काठमाडौँ :
नेपाली फिल्म क्षेत्रका अनुभवी निर्देशक निर शाहले नयाँ फिल्म ‘कमला मिस’ मार्फत पुनः निर्देशनमा सशक्त पुनरागमन गरेका छन्। आगामी साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता थपिएको छ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले फिल्मको कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गर्छ। निर्माण पक्षले फिल्मको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ।
मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’ मा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर,सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्। विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सागर बोहरा रहेका छन्।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि ‘वासुदेव’,‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्। त्यसैले ‘कमला मिस’ लाई उनको अनुभव र सिर्जनशीलताको नयाँ अध्यायको रूपमा हेरिएको छ।
एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यस फिल्मले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले लिएको छ।