नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलोपटक मधेश प्रदेशमा भेटिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको दुधौरा खोलानजिक काँडेभ्याकुर अभिलेख भएको नेपाल पक्षीविद् संघका अध्यक्ष हठनराम महतोले जानकारी दिनुभयो । उहाँका अनुसार अब काँडेभ्याकुर देशका सातवटै प्रदेशका अभिलेख भएको छ ।
संघले विज्ञप्ती निकालेर चराविद् हठन चौधरी र सुरज बरालले यही जेठ २१ गते काँडेभ्याकुर फेला पार्नुभएको जनाएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर १ हजार ८ सय ३० मिटर उचाइसम्म अभिलेख भएको रेकर्ड छ । तर, बारामा भएको अभिलेख अहिलेसम्मकै होचो भू–भाग समुद्री सतहबाट ४ सय ४३ मिटरमा भेटिएको संघले जनाएको छ ।
काँडेभ्याकुर घुम्रिएको कालो ठुँड, अरू चराभन्दा पृथक र चर्को सुसेली गीत गाउने हुन्छ । उन्युँ वा खरघाँस भएको काँडे र खस्रा वनमा बस्न मन पराउने भ्याकुर भएकाले पनि यसलाई काँडे भ्याकुर भनिएको हो।
नेपालमा सबैभन्दा पहिले काँडे भ्याकुर चरा बेलायती नागरिक ब्रायन हडसनले सन् १८३० मा काठमाण्डौ उपत्यकामा अभिलेख गर्नुभएको थियो ।