सुचना, समाचार र मनोरन्जन

स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ९ करोड कमाउँदै ब्लकबस्टर, आर्थिक वर्ष २०८३ को सर्वाधिक कमाउने फिल्म

काठमाडौं :

स्वस्तिमा खड्का अभिनित फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको छ। अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको यस फिल्मले घरेलु बजारमा ९ करोड रुपैयाँभन्दा बढीको कमाइ गरेको हो।

यस फिल्मले आर्थिक वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली फिल्महरूमध्ये सर्वाधिक कमाउने कीर्तिमान बनाएको छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली यस फिल्मको चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा : बक्सअफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार २ लाख ९८ हजार २२७ टिकट बिक्री भएको छ। उक्त टिकटबाट ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कलेक्सन गरिसकेको थियो। मंगलबारसम्म आइपुग्दा फिल्मको कुल कमाइ ९ करोड रुपैयाँ नाघिसकेको पक्षले जानकारी दिएको छ।

यम थापाको निर्देशन र प्रदीप भट्टराईको कार्यकारी निर्माण तथा पटकथा रहेको यस फिल्ममा स्वस्तिमाका साथै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रशंसा सुवेदीको मुख्य अभिनय रहेको छ। फिल्ममार्फत ठूलो पर्दामा डेब्यु गरेका रंगमञ्चका स्थापित अभिनेता विशाल देवकोटा नारायणको भूमिकामा र अभिनेत्री प्रशंसा सुवेदीले दर्शक र समीक्षकबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुशन प्रजापतिले छायांकन र मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.