पोखरा,
पोखरा पर्यटन परिषदको पूर्व अध्यक्ष फोरम गठन भएको छ । संस्थाका कार्यसमिति, पूर्व अध्यक्ष तथा सल्लाहाकारहरु सहित बुधवार बसेको बैठकले सो फोरम गठन गरेको हो । भेलाले सबै पूर्वअध्यक्षहरु सदस्य रहने गरि डम्बर बहादुर केसीलाई संयोजक तोकेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
पूर्व अध्यक्षहरुको समितिका संयोजक डम्बर बहादुर केसीले नवगठित समितिलाई आफुहरुको अनुभवको आधारमा परिषदलाई सहि मार्गदर्शन गर्ने बताए । पर्यटनसंग सम्बन्धित मुद्दाहरु कतिपय अवस्थामा भड्किएर भिन्न बाटाहरुमा जाने गरेको स्मरण गर्दै उनले अबका दिनहरुमा पर्यटन र पर्यटनसंग सम्बन्धित विषयहरुलाई थप बलियोसंग उजागर गर्दै पोखरामा थप पर्यटक कसरी आकर्षण गर्न सकिन्छ भन्ने बाटोमा अग्रसर प्रतिवद्धता व्यक्त गरे । समिति गठन हुनुले पूर्व पदाधिकारीहरुको अपनत्व पनि हुने र संगठनलाई मझबुत बन्न थप प्रेरणा मिल्ने संयोजक केसीले विस्वास समेत व्यक्त गरे ।
साथै उक्त बैठकले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको कार्यसम्पादन बारे समेत अध्ययन गर्ने निर्णय गरेकोछ । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयले यस आर्थिक वर्षमा यस क्षेत्रको पर्यटन प्रवर्धन र विकासमा गरेको काम र त्यसवाट प्राप्त हुने प्रतिफलका वारेमा बुझि तत पश्चात नेपाल सरकारका पर्यटन मन्त्री, गण्डकी प्रदेशका पर्यटन मन्त्रीहरु सग समेत थप छलफल अगाडी वढाई यस क्षेत्रको पर्यटनको समर्ग प्रवर्धन कार्यक्रमहरुलाई अगाडी वढाईनेछ ।

यसै गरी पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हुन लागेको फ्लाई दुबई लगायतका सबै अन्तराष्ट्रिय उडानहरुलाई दिगो बनाउन परिषदले आवस्यक पहलको लागि साझेदारी गर्ने समेत निर्णय गरेको महासचिव जीवनराज सापकोटाले परिचयलाई बताए । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागी पोखरा पर्यटन परिषदले पहल गदै आएको र विगतमा यस बिमानस्थलवाट पहिलो व्यवसायीक अन्र्तराष्ट्रिय उडान पोखरा पर्यटन परिषदकै नेतृत्वमा भएको स्मरण गराउदै आगामी दिनमा पनि यस बिमानस्थल पुर्ण संञ्चालनमा ल्याउन पोखरा पर्यटन परिषद र निजि क्षेत्र सदा तयार रहेको समेत बताए ।
