सुचना, समाचार र मनोरन्जन

प्रविधिको सही प्रयोगबाट सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउनु पर्छः सभामुख धिताल

पोखरा,
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रमा यसको सही र प्रभावकारी प्रयोग अनिवार्य रहेको बताएका छन् । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिष्ट्रारको कार्यालयले बिहीबार पोखरामा आयोजना गरेको आमसञ्चार क्षेत्रका प्राविधिकहरूको क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै सभामुख धितालले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सभामुख धितालले भने, प्रविधिको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । सञ्चार क्षेत्रको अधिकार सुरक्षित गर्न र यसलाई व्यवस्थित बनाउन प्रेस रजिष्ट्रारको कार्यालयको अवधारणा आएको हो । यस क्षेत्रको सबलीकरणका लागि प्राविधिकहरूको दक्षता वृद्धि हुनु नै यो तालिमको वास्तविक औचित्य हो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले सञ्चारमाध्यममा पर्दा पछाडि अर्थात् नेपथ्यमा रहेर काम गर्ने प्राविधिकहरूको भूमिका मेरुदण्डका रूपमा रहेको उल्लेख गरिन। पर्दा पछाडि रहेर गहन र महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राविधिकहरूको दक्षता, क्षमता र योग्यतामा थप निखार ल्याउने उद्देश्यले प्रदेशमा पहिलो पटक यो कार्यक्रम आयोजना गरिएको हो, रजिष्ट्रार भण्डारीले भनिन, अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट दिइने यो प्रशिक्षणले गण्डकीका प्राविधिकहरूलाई आधुनिक प्रविधि र एआईसँग जोड्न सफल हुनेछ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले प्राविधिकहरू सञ्चारमाध्यमका मुटु भएको बताए । उनले भने, हिजो सहयोगीका रूपमा हेरिएका प्राविधिकहरू आज सञ्चार माध्यमका सारथिमा रूपान्तरण भएका छन् । मिडियालाई टिकाउन सञ्चालक र सञ्चारकर्मी मात्र होइन, प्राविधिकहरूको भूमिका अपरिहार्य छ ।

शुभकामना मन्तव्य राख्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य केबी रानाले गण्डकीले पहिलो पटक प्राविधिकहरूको आवश्यकता महसुस गरेर यस्तो तालिम दिनु प्रशंसनीय रहेको बताए । उनले मिडिया क्षेत्रमा हाल विद्यमान आर्थिक संकटप्रति चिन्ता व्यक्त गरे । सरकारले मिडियामा आर्थिक नाकाबन्दी गर्दा ८० प्रतिशत मिडिया हाउसहरू बन्द हुने अवस्थामा पुगेका छन् । खबरदारी गर्ने मिडियाहरू नै अहिले संकटको भुमरीमा फसेका छन्, रानाले उल्लेख गरे।

प्रशिक्षण कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका स्रोत व्यक्तिहरू बाबुराम अर्याल, सुवास अमगाईं र इन्जिनियर विवेक घिमिरेले अखबार, रेडियो र टेलिभिजनमा कार्यरत प्राविधिकहरूलाई प्रशिक्षण दिने छन् । विशेषगरी आजको एआई दुनियाँले दिएका अवसरहरूलाई कसरी प्रयोग गर्ने र पाठक, स्रोता एवं दर्शकलाई मिडियाका विषयवस्तुप्रति कसरी विश्वसनीय र आकर्षित गर्ने भन्ने विषयमा सघन प्रस्तुति रहनेछ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्राविधिकहरूको सहभागिता रहेको यो कार्यक्रमलाई प्रदेशको सञ्चार क्षेत्रमा एउटा नयाँ र ऐतिहासिक सुरुवातका रूपमा हेरिएको छ । प्रेस रजिष्ट्रारको कार्यालयले आफ्नो वार्षिक विकास कार्यक्रमअन्तर्गत मिडिया क्षेत्रको व्यावसायिकता र प्राविधिक सुदृढीकरणका लागि यो प्रशिक्षण तय गरेको कार्यक्रम सञ्चालक अधिकृत राजेश पौडेलले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.