एशियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रुपमा घटेको छ । पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो ।
बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै ४ प्रतिशतले घट्दै प्रति ब्यारेल ८३ अमेरिकी डलर ८१ सेन्टमा झरेको छ । त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै ४ दशमलव ७ प्रतिशतले घटेर प्रति ब्यारेल ८० डलर ८९ सेन्टमा पुगेको छ ।
विशेषज्ञहरूका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्त अस्थिर रहने अनुमान गरिएको छ । इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरुद्ध भएको थियो, जहाँबाट विश्वको झण्डै २० प्रतिशत कच्चा तेल तथा एलएनजी आपूर्ति हुने गर्छ ।
ऊर्जा विश्लेषक एन्ड्रयू लिपोका अनुसार यो मार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्छ । युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल करिब ७० डलरबाट बढेर करिब १२० डलरसम्म पुगेको थियो । मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको छ ।