सुचना, समाचार र मनोरन्जन

पोखराका दुई कृषकलाई उत्कृष्ट कृषक सम्मान

पोखरा,

पोखरा महानगरपालिकाले दुई जना व्यावसायिक कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ । पर्यटन परिषद मुख्य आयोजक रहेको २१ औं रोपाइँ महोत्सवको अवसर पारी कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की र हेब्रोन लाइभ स्टक फार्मकी सञ्चालक कमला पाल्पाली खड्कालाई पोखरा महानगरपालिका का नगरप्रमुख धनराज आचार्यले नगद र सम्मान पत्र सहित सम्मान गरेका हुन ।

पोखरा–२१ बसोवास रहेका ज्ञान बहादुर कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा र विभिन्न प्रकारका तरकारी बाली खेती तथा पशुपालन गर्दै आएका छन् भने पोखरा–२७ की कमला पाल्पाली खड्काले हेब्रोन लाइभ स्टक फार्मलाई आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित एक नमुना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गरेकी छन् । परम्परागत पशुपालनलाई विस्थापित गर्दै व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित यो फार्मले जैविक सुरक्षा र दिगो कृषिको अवधारणालाई आत्मसाथ गरेको छ ।

कुल ३२ रोपनी क्षेत्रफलमा फैलिएको खड्काको फार्ममा उन्नत घाँस खेती र आधुनिक गोठ निर्माण गरिएको छ । फार्म भित्र दूध दुहुने विशेष स्थान, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक कक्षहरू रहेका छन् । यो फार्मले स्थानीय स्तरमा दुग्ध आपूर्ति र रोजगारी सिर्जनामा ठुलो योगदान पुर्‍याएको छ ।

महानगरपालिका कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण सहित कृषकहरूको उत्साह बढाउन सधैं क्रियाशील रहने नीति लिएको छ । ‘महानगरपालिका कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणसहित कृषकहरूको प्रोत्साहनका लागि सदैव तत्पर रहेको रहेको नगरप्रमुख आचार्यले बताए।

Leave A Reply

Your email address will not be published.