सुचना, समाचार र मनोरन्जन

‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी सलिना तामाङ

काठमाडौँ :

आगामी नेपाली चलचित्र ‘कंगाल करोडपति’ को मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन्। यस चलचित्रमा उनी अभिनेता मुकुन भुसालको जोडीका रूपमा देखिनेछिन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यसै चलचित्रमार्फत सलिनाले नेपाली चलचित्र उद्योगमा पदार्पण (डेब्यू) गर्दैछिन्।

निर्माण पक्षका अनुसार सलिनाले यसै महिना चलचित्रका लागि औपचारिक सम्झौता गरेकी हुन्। ‘कंगाल करोडपति’ मा मुकुन भुसाल र सलिना तामाङ पहिलो पटक पर्दामा जोडीका रूपमा देखिन लागेका हुन्।

चलचित्रमा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो पहिलो यात्रा (डेब्यू)का लागि उपयुक्त चलचित्र भएको बताएकी छन्।

“यस चलचित्रमा एउटा महत्त्वपूर्ण पात्रका रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु। मेरो अभिनय र यो चलचित्रलाई सबैले धेरैभन्दा धेरै माया र साथ दिनुहुनेछ भन्ने आशा राखेकी छु,” चलचित्रमा आबद्ध भएपछि उनले भनिन्।

सलिनाले भारतको मुम्बईस्थित ‘द एक्टर्स ट्रुथ’ मा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनयको प्रशिक्षण लिएकी हुन्। सचदेव रणवीर कपूर अभिनीत ब्लकबस्टर चलचित्र ‘एनिमल’ लगायत विभिन्न चर्चित चलचित्रमा अभिनय गरिसकेका कलाकार हुन्।

‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदैछ। चलचित्रका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी हुन्। त्यस्तै, सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

चलचित्रको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माण पक्षका अनुसार केही कलाकारहरूको छनोट सम्पन्न भइसकेको छ भने बाँकी केही पात्रका लागि चाँडै अडिसनको घोषणा गर्ने तयारी भइरहेको छ।

Leave A Reply

Your email address will not be published.