सुचना, समाचार र मनोरन्जन

सुगम पोखरेलको एआईमार्फत गीत बिगार्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ :

प्रसिद्ध पप गायक सुगम पोखरेलले आफ्ना मौलिक गीतहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गरी तोडमोड गरेर डिजिटल प्लेटफर्ममा राख्नेहरूविरुद्ध कानुनी कारबाहीको चेतावनी दिएका छन्। उनले यस विषयमा सङ्गीतकर्मी समेत रहेका प्रधानमन्त्री बालेन (बालेन्द्र शाह_ को ध्यानाकर्षण समेत गराएका हुन्। उनले आफ्नो उक्त पोस्टमा प्रधानमन्त्री बालेन, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिना, र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायतलाई ‘मेन्सन’ गर्दै आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत गायक पोखरेलले आफ्ना गीतहरूलाई अनुमति बिना तोडमोड गरी पोस्ट गर्ने प्रयोगकर्ताहरूको एकाउन्टको स्क्रिनसट समेत सार्वजनिक गरेका छन्। उनले यस्तो कार्य पूर्णतः गैरकानुनी भएको उल्लेख गर्दै सम्बन्धित व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने बताएका हुन्।

सुगमले सामाजिक सञ्जालमा लेखेका छन्, “यो र यस्ता किसिमका एआई बाट तयार पारेर, म लगायत अन्य कलाकारका सिर्जना अनुमति बिना युट्युब र डिजिटल प्लेटफर्ममा राखेर पैसा समेत कमाइरहनु भएका सबैलाई ती सामग्री हटाउनका लागि अनुरोध गर्दछौँ। देश–विदेश जता बसेर गरे पनि, थाहा पाएर या थाहा नपाएर गरे पनि, यो सरासर गैरकानुनी कार्य हो। हाम्रो यो अनुरोधलाई बेवास्ता गर्नुभएमा प्रचलित कानुनअनुसार, नेपाल या संसारको जुनसुकै कुनामा भए पनि हामी तपाईंलाई कानुनी दायरामा ल्याउन बाध्य हुनेछौँ। सबैलाई चेतना भया।”

पोखरेलका अनुसार उनका अत्यधिक रुचाइएका गीतहरू ‘फेरि त्यो दिन’, ‘जाँदैछु टाढा’, ‘कति दिन बिते’, ‘मायाको बाटो’, र ‘सम्हालिन्छ कहिले मन’ जस्ता सिर्जनाहरूलाई एआईमार्फत तोडमोड गरेर युट्युबमा राखिएको छ।

Leave A Reply

Your email address will not be published.